Biratnagar, Morang, Nepal
१ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

दुई सातादेखि शिक्षक बेपत्ता

उद्‌घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

कर्णाली, ५ भदौ । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन  ।

शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुनुहुन्थ्याे ।

उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिँडेका आफन्त गोपी सिंहले जानकारी दिए । 

“साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ ।

जेठान दाइले जुम्लाबाट  ४० हजार पठाउँदै छन भनेपछि पर्खिँदा धेरै बसाइँ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिरिएपछि उनी फर्किएका छैनन्”, सिंहले भने ।

गत साउन २६ गतेसम्म आउछन् कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि घरमा ससुराबुबा हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए ।

ससुरा नेपालगञ्जमा आएर खोज्दा नभेटिएपछि आफैँ निवेदक भएर नेपालगञ्ज जिल्ला प्रहरी कार्यालयमा खोजीदिनका लागि उजुरी हालेको उनले बताए ।

यही भदौ २ गते नेपालगञ्जबाट जाजरकोट फर्किसकेका सिंहले सम्पर्कविहीन शाहीको खोजीमा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

शिक्षक शाहीका बुबा हंसबहादुरले छोरा र ज्वाइँ गोपी सिंह सोही होटेलमा सँगै बसेको तर साउन २५ गते बाहिर गएर आउछु भनेर निस्किएको छोरा नफर्केको खबर पाएपछि आफू त्यही पुगेको बताए ।

उनले भने, “नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन । फोन पनि बन्द छ । खाना खाएको  १६ हजार नौ सय पुगेपछि ज्वाइँ गोपी छोरा आउने आशमा त्यही बसेका रहेछन् ।”

होटल धनीलाई पछि तिरौँला भन्ने भाका गरी घर फर्केको पीडित शाहीले दुखेसो पोखे । हराएको धेरै दिनसम्म सम्पर्कमा नआएपछि जतिसक्दो चाँडो खोजी दिन उनले प्रहरी प्रशासनलाई आग्रह गरे ।

उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति होटलमा बसेका बताए ।

“साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिए थाहा पाएनौँ ।

उ नफर्केपछि खोजी सुरु गरेका थियौँ”, उनले भने, “दुवैले यहाँ बस्दा खाएको  १६ हजार नौ सय उनको बुबा, श्रीमती र बहिनीले पछि तिरौँला भनी नागरिकतालगायत आवश्यक कागजात लिएर घर फर्किएका छन् ।

हराएका शाहीको आजसम्म कुनै खबर पाएका छौनौँ ।”  रासस

View : 146

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved