Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ब्राउन सुगर खोजीमा प्रहरी अभियान

उद्‌घोष संवाददाता
९ वैशाख २०८३, बुधवार

विराटनगर । महंगो मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने गरेको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) नियन्त्रणमा प्रहरीले कारवाही तिब्र पारेको छ । सोमबार मात्रै मोरङ प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । 

मोरङको रतुवामाई नगरपालिका–१ का २१ वर्षीय आबिद मियाको साथबाट प्रहरीले आधा किलो ब्राउन सुगर बरामद गरेको छ । भारतीय बजारमा आधा किलो ब्राउन सुगरको मुल्य नेपाली रुपैयाँ करिव २० लाख छ ।

प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार भारततर्फबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका मियालाई इलाका प्रहरी कार्यालय सिजुवाका सुरक्षाकर्मीले चेकजाँच गर्न खोज्दा उनी भागेका थिए । 

सो क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेर मियालाई नियन्त्रणमा लिएको हो ।

मिया सवार बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलसहित उनलाई कारवाहीका लागि नियन्त्रणमा राखिएको प्रहरीको भनाइ छ । 

तीन दिनअघि झापाको कनकाई–५ चप्रामारीमा नेपाल प्रहरीको लागुऔषध ब्युरोले आधा किलो भन्दा बढी ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लियो ।

ब्युरोको केन्द्रीय कार्यालय काठमाडौंको सुचनाको आधारमा भारतीय नागरिक २२ वर्षीय निसार आलम र झापा गाउँपालिका–६ का २२ वर्षीय सफिकगुल मिया पक्राउ परेका छन् । 

उनीहरूले बेचबिखनका लागि नेपालतर्फ ब्राउन सुगर लिएर आएको प्रहरीलाई बताएका छन् ।

ब्युरो स्रोतका अनुसार काठमाडौंमा पक्राउ परेका कारोबारीको सुचनाको आधारमा बिभिन्न जिल्लाबाट ब्राउन सुगर ओसारपसारमा संलग्न ब्यक्तिहरू पक्राउ पर्दै आएका छन् । 

यता झापा भद्रपुरस्थित वडा प्रहरी कार्यालयले ब्राउन सुगरको समस्या बढेकाले अभियान सञ्चालन गर्यो ।

सफल अभियान सञ्चालन गर्ने वडाका प्रहरी निरीक्षक  मोतिलाल योञ्जन कोशी प्रदेशमा चैत महिनाको सर्बोत्कृष्ट काम गरेको उपाधि पाएर सम्मानित भएका छन् । 

बैशाख ३ गते विराटनगरको महेन्द्र चोक नजिकैबाट लागुऔषध ब्युरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी विराटनगरले दुई जनालाई एक सय ५ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लियो ।

ग्राहकलाई ब्राउन सुगर दिन आएका भारत बिहार अररिया जिल्ला सिक्टी निवासी ४४ वर्षीय मोहम्मद सरिफ र मोरङ जहदा–७ का ४० वर्षीय लालमन मुखियाको साथबाट बरामद भएको थियो । 
अत्यन्त महंगो मानिने ब्राउन सुगरको अवैध कारोबार भारतीय सीमादेखि नेपालका उच्च पहाडी जिल्लासम्म फैलिएको छ । 

भारत बिहारका सिमानाबाट नेपाल प्रवेश गरेर विराटनगरदेखि काठमाडौंसम्म ब्राउन सुगर जाने गरेको पाइएपछि प्रहरीले कोशी प्रदेशका सीमावर्ती क्षेत्रमा बढी निगरानी गर्दै आएको जनाएको छ ।

गत महिना सिन्धुपाल्चोक सुनकोशी–५ का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा–७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रेपलाञ्चोक तेमाल–८ का ३० वर्षीय सागर तामाङलाई ब्राउन सुगरसहित लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले काठमाडौंबाट पक्राउ गरेको थियो । 

उनीहरूले विराटनगरबाट लागुऔषध काठमाडौं लगेर बिक्री गर्ने गरेको पाइएपछि प्रहरीले ब्राउन सुगर सप्लाई गर्ने भारतीयलाई नै पक्राउ गर्यो ।

ब्युरोले आफै ग्राहक बनेर भारतीय कारोबारीसँग ब्राउन सुगर विराटनगरसम्म मगाएको थियो । 

विराटनगर बसपार्क क्षेत्रमा एक सय ग्राम ब्राउन सुगर पुर्याउन आएका बिहार अररिया जिल्ला फारबिसगञ्ज–२५ का २५ वर्षीय बिपुल बर्मालाई ग्राहक बनेर बसेका प्रहरीले पक्राउ गरेका थिए । 

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण कोइरालाले पक्राउ परेका ब्यक्तिहरूमार्फत भारतीय कारोबारीलाई पक्राउ गर्न देशभर ब्युरोका प्रतिनिधि परिचालन गर्र्दै आएका छन् ।

नेपालमा ब्राउन सुगर कारोबारीको सञ्जाल तोड्न सबै तिर निगरानी बढाइएको उनले बताए । 

पहिलेको तुलनामा कांकडभिट्टा भन्दा जोगवनी नाकामा पछिल्लो समय बढी ब्राउन सुगरको कारोबार हुन थालेको छ । 

भारत सीमावर्ती क्षेत्रमा प्रतिकिलो करिब ३५ लाख रुपैयाँ पर्ने ब्राउन सुगर काठमाडौं पुग्दा ८० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

View : 114

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved