Biratnagar, Morang, Nepal
८ फागुन २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

कृष्णप्रसाद भट्टराई फाउण्डेशन भवन, प्रक्रिया मिचेर काम गर्दा विवाद

निजी जमिनमा भवन भएकाले वडा कार्यालयले घर र बाटो सिफारिस गरेको छैन । घरबाटो प्रमाणितको अधिकार वडा कार्यालयसँग रहन्छ । वडाले बिभिन्न पक्षसँग सुझाव लिएर घरबाटो सिफारिस नगरेको हो ।
उद्‌घोष सम्वाददाता
५ फागुन २०८१, सोमवार

विराटनगर । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईका नाममा स्थापित कृष्णप्रसाद भट्टराई फाउण्डेशनले बनाउँदै गरेको भवन निर्माण प्रक्रिया मिच्दा विवादमा परेकोे छ ।  फाउण्डेसनले आफूखुशी भवन निर्माण अघि बढाउँदा नक्सा पास र घरबाटो सिफारिस हुन सकेको छैन ।

विराटनगर–४ मा रहेको निजी जमिनमा सरकारको लगानीले ६ तले भवन बनाइएको छ । फाउण्डेशनका लागि निजी र सरकारी जमिनमा बनाइएको भवनका लागि तीनै तहको सरकारले ९ करोड रूपैयाँ लगानी गरिसकेका छन् । 

निजी जमिनमा भवन भएकाले वडा कार्यालयले घर र बाटो सिफारिस गरेको छैन । घरबाटो प्रमाणितको अधिकार वडा कार्यालयसँग रहन्छ । वडाले बिभिन्न पक्षसँग सुझाव लिएर घरबाटो सिफारिस नगरेको हो ।

‘ब्यक्तिको नामको जमिनमा सरकारी लगानीमा बनेको भवन भएकाले सिफारिस नदिइएको हो’ महानगरका एक जनप्रतिनिधिले भने– ‘यस्ता कुरामा समयमा ध्यान नदिए अख्तियारको मुद्दा लाग्न सक्छ ।’ 

महानगर र अन्य निकायसँग वडा कार्यालयले सुझाव लिएर सिफारिस नगर्ने निर्णय गरेको बताइएको छ । वडाध्यक्ष जितन थापाले भनें यो विषयमा केही पनि नबोल्ने बताए । वडा कार्यालयलाइ नक्सा पास लगायतका कानुनी अड्चन फुकाइदिन फाउण्डेसनका पदाधिकारीहरूले दवाव दिंदै आएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार महानगरपालिकाले दिएको ६ कठ्ठा ऐलानी जमिन र सञ्जीव रिजालको नाममा दर्ता रहेको थप ७ कठ्ठाको बीच भागमा भवन बनेको छ । सो जमिनका वारेस अशोक रिजाल र राजेन्द्र खनाल छन् ।

सन्त नेताको नाममा बनेको फाउण्डेशनका लागि भवन बन्नु अगावै प्रतिष्ठानका पदाधिकारीले कानुनी अड्चन आउन सक्नेमा ध्यान दिएका छैनन् । विराटनगर महानगर, प्रदेश सरकार र संघीय सरकारले भवनमा लगानी गरेका छन् ।

विराटनगर महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपालेले भवनबारे सबै बुझेर मात्रै प्रतिक्रिया दिने बताए ।

भवन तयार हुँदासम्ममा सरकारको १५ करोड रूपैयाँ भन्दा बढी लाग्ने देखिएको छ । फाउण्डेशनका अध्यक्ष तथा राष्ट्रियसभाका पूर्व सांसद रमेशजंग रायामाझीले सामान्य समस्या रहेको र छिट्टै समाधान हुने बताएका छन् । ‘राज्यको पैसा लागेको छ, बेकारमा खेर जाँदैन’ उनले भने ।

रायमाझीका अनुसार जमिन खरिद गरेर फाउण्डेशनका नाममा ल्याउन बैना पनि दिई सकिएको छ । बैनाको कागज नगरपालिकामा पेश भई सकेको छ ।

सरकारले बनाउँदा ३५ करोडको लागतमा तयार हुने भवन १५, १६ करोडमै तयार हुने अवस्था रहेको उनको भनाइ छ । भवनको नक्शाको डिजाइन परिवर्तन गरिएकाले सो पनि केही दिनमै पास भएर आउने उनले विश्वास ब्यक्त गरे ।

२–२ सय जना अट्ने दुई वटा र १ हजार जनासम्म अट्ने एउटा सभाहल रहने भवनमा कूल ५६ वटा कोठा हुने छन् । भवन निर्माण अगावै खोलाको जमिन मिचिएको आरोप लगाएर स्थानीयले अवरोध पनि गरेका थिए ।

नेपाली कांग्रेसका संस्थापक नेता भट्टराई २०१५ सालमा सभामुख, २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारको प्रमुख पनि भएका थिए । उनी २०५६ मा पनि प्रधानमन्त्री बनेका थिए । २०४८ मा नेपाली कांग्रेसको सभापति भएका थिए ।

View : 119

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved