विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजना तथा जनपथ माविको संयोजनमा बुधबारदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ ।
प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कक्षागत फाठ्यक्रम अध्ययनसागै अतिरित्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गरे । खेलकुदले शारीरिक र मानसिक विकाससागै व्यक्तिलाई अनुशासित बनाउन सहयोग गर्ने उनको भनाइ थियो ।
मेयर कोइरालाले सीमित स्रोत र साधनका बाबजुत पनि महानगरले विराटनगरवासीको सर्वाङ्गीण विकासमा ध्यान दिएको बताए । मेयर कोइरालाले महानगरपालिकासित सीमित स्रोत–साधन रहेको त्यही सीमित स्रोत र साधनबाट धेरैभन्दा धेरै काम गर्नुपरेको र खेलकुदको विकासका लागि महानगरपालिका गम्भीर रहेका बताए ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले खेलकुदले मानिसलाई अनुशासित बनाउन सिकाउने बताउँदै महानगरले आयोजना गरेको प्रतियोगिताबाट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरिन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक एवम् विराटनगर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, सहभागी विद्यालयहरूका तर्फबाट मिल्स माविका प्रधानाध्यापक विन्दुकुमार लावती, प्रतियोगिताको संयोजनको जिम्मेवारी प्राप्त जनपथ माविका प्रधानाध्यापक तथा आयोजक समितिका सदस्यसचिव हरिप्रसाद पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगितामा २० सामुदायिक विद्यालयसहित ४३ वटा विद्यालयको सहभागिता छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो र कराँते खेलमा १ हजार ५ सय जना विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेता खेलाडीहरूले अन्तरपालिकास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माले जानकारी दिनुभयो । प्रतियोगिता माघ ५ गते शुक्रबारसम्म सञ्चालन हुनेछ ।
View : 141
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved