Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योग परिसंघ कोशीको टोली काठमाडौंमा

अर्थमन्त्रीलाई अन्तरक्रियाको निम्तो, औद्योगिक क्षेत्रका समस्या समाधान गर्न आग्रह

उद्घोष सम्वाददाता
१३ साउन २०८१, आइतवार

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडासहितको टोलीले आइतबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेर कोशी प्रदेशमा आयोजना गर्न लागिएको अन्तरक्रियाको निम्तो दिएको दिएको छ । टोलीले औद्योगिक वातावरणलाई अझ अनुकुल बनाउन आग्रहसहित आर्थिक क्षेत्रका विषयमा अर्थमन्त्री पौडेलसँग छलफल गरेको जनाइएको छ ।

सीएनआई कोशी प्रदेशका अध्यक्ष सारडाले आर्थिक सङ्कट तथा आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीहरू अझैपनि त्रासबाट गुज्रिरहेको बताए । उनले कारोबार नियमित चलाउन पूँजी अभाव भइरहेको, बैंकमा रहेको लगानी योग्य रकम लगानीमा आउन नसकेको, निर्माण व्यवसायीले ऋणमा ल्याएको रकमबाट गरेको निर्माण कार्यको भुक्तानी सरकारबाट नपाएको, विगतका सरकारहरूले लिएका नीतिका कारण औद्योगिक वातावरण र लगानी वातावरण हतोत्साहित भइरहेको विषयमा अर्थमन्त्री पौडेलसँग कुराकानी भएको बताए ।

सारडाले उद्योग र व्यवसाय क्षेत्रतर्फ ल्याएका व्यवस्थाहरू मध्ये मुलुकको आत्मनिर्भरता एवं स्वदेशी उत्पादनको संरक्षणार्थ केही व्यवस्थाहरू सुधार गर्नका लागि अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको बताए ।

अहिलेपनि उद्योगहरू धमाधम बन्द हुँदै गइरहेको, उद्योगीहरू पलायन हुने अवस्थामा पुगेको र मुलुकमा बेरोजगारी बढ्दो क्रममा रहेकोले युवाहरू विदेश पलायन तीब्र भएको प्रति लिखित रूपमै ध्यानाकर्षण गराइएको जनाइएको छ ।
प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेलसहित राजश्व सचिव डा. राम प्रसाद घिमिरेसँग समेत भेट गरेको जनाइएको छ ।

परिसंघको तर्फबाट चाँडै नै समय मिलाएर पूर्व क्षेत्रका उद्योगी व्यवसायी तथा आर्थिक क्षेत्रका विभिन्न समस्यालाई अवलोकनसहित छलफल गर्ने विषयमा अर्थमन्त्री पौडेलले समेत चासो देखाएको जनाइएको छ । त्यसका लागि परिसंघले निम्तो समेत दिएको अध्यक्ष सारडाले बताए ।

निम्तो स्वीकार गर्दै अर्थमन्त्री पौडेलले सरकारले उद्योगी, व्यवसायी तथा रोजगारदातालाई चित्त नदुखाउने र उदार अर्थ नीतिका विषयमा उद्योगी व्यवसायीका सुझावहरूलाई सकेसम्म कार्यन्वयन गर्दै जाने आश्वासन दिएको जनाइएको छ ।

अर्थमन्त्री पौडेलले व्यवसायी तथा आर्थिक क्षेत्रका सरोकारवालाहरू समस्या लिएर पटक–पटक राजधानीमा धाउनु पर्ने अवस्था अन्त्य गर्न प्रदेशमै आयोजना हुने अन्तरक्रियामा सहभागी हुने आश्वासन दिएको परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले बताए ।

भेटघाटका क्रममा स्पन्ज आइरनमा कम्तिमा एक तहको भसार महशुल फरक गर्नुपर्ने, जीआई वायरमा लगाइएको अतिरिक्त शुल्क हटाउनु पर्ने र अन्तशुल्क फिर्तामा जटिलताको बिषयलाई समाधान गर्ने, दैनिक उपभोग्य वस्तुको कच्चा पदार्थमा लाग्ने शुल्क खारेज गर्नुपर्ने, चामल उद्योगहरुको अग्रीम आयकर खारेज गरी उद्योगहरुका संरक्षण गर्नुपर्ने, गोटा दाल र मटरको आयात सहज गरिनु पर्ने, बैंक वित्तीय संस्थाहरुको आन्तिरक कारोवारमा भ्याट असुली खारेज गर्नुपर्ने जस्ता अन्य मागहरु समेत अर्थमन्त्री समक्ष राखिएको जनाइएको छ । 

साथै परिसंघले मालवाहक सवारी साधनहरुमा अतिरिक्त कर र शुल्क असुल्न नहुने र कोशी प्रदेश सरकारले मालवाहक सवारी साधनहरुमा दोहोरो कर असुली गरिरहेको विषयमा समेत जानकारी गराइएको परिसंघका महानिर्देशक विजयहरि शर्माले बताए ।

View : 170

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved