रुकुमपश्चिम, २८ भदौ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ ।
आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उनकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ ।
गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिए । उनका अनुसार गाडी चालकको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ ।
आज बिहान रा१झ २०० नम्बरको गाडी सडकदेखि तीन सय मिटर तल खेसेको थियो । दुई महिलाको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो भने एक पुरुषको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको थियो ।
उक्त गाडी काठमाडौँबाट रुकुमपूर्व आउने क्रममा बागलुङको गलकोट–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण गाउँपालिकाले नसोचको क्षति बेहोर्नुपरेको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए ।
“सुरुमा घटना भएको खबर मात्र थाहा भएको थियो, त्यसपश्चात् पालिका उपाध्यक्ष चढेको गाडी दुर्घटना पर्यो भन्ने खबर पायौँ सामान्य दुर्घटना होला घाइते भएको होला भन्ने लागेको थियो, केहीबेरमा मृत्युको खबर प्राप्त गर्यौं, हामी स्तब्ध भएका छौँ, पालिकालाई अतुलनीय क्षति पुगेको छ”, उनले भने ।
अहिले अध्यक्ष घर्तीसहित गाउँपालिको टोली घटनास्थल गएको छ । बागलुङको बुर्तिवाङ पुगेको र दुई/तीन घण्टामा घटनास्थल पुगिने गाउँपालिका अध्यक्ष घर्र्तीले जानकारी दिए । घटनास्थल पुगेपश्चात् शव रुकुमपूर्व नै ल्याइने उनले बताए । रासस
View : 292
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved