झापा : नेपालको पूर्वको सीमा क्षेत्रमा रहेका नेपाल–भारतको स्तम्भ मर्मतसहित रङरोगनको काम सोमबारदेखि सुरू भएको छ । झापामा साना, मझौला र ठूला गरी ३ सय १७ सीमास्तम्भको मर्मत सम्भार र रङरोगन गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । त्यस्तै मोरङमा ३४ र सुनसरीमा १ स ३३ गरी ४ सय ८४ स्तम्भको मर्मत सम्भार र रङरोगन गरिने जनाइएको छ ।
सीमास्तम्भ मर्मत सम्भार र रङरोगन शुभारम्भ कार्यक्रममा राष्ट्रिय अनुसन्धान निर्देशक दीपक भारती, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीलगायतको उपस्थिति थियो ।
नेपाल तथा भारतका सुरक्षा संयन्क्रको संयुत्त उपस्थितिमा झापाको मेचीनगर र भद्रपुर नगरपालिकाका नगर प्रमुखहरूले मेचीनगर–७ स्थित सीमास्तम्भको मर्मतसहित रङरोगनको काम सुरू गरिएको हो ।
सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका बाहिनीपति डीआईजी अञ्जनीकुमार पोखरेलले कोशी प्रदेशमै पहिलो पटक नेपाल र भारतको सिमाना छुट्याउने सीमास्तम्भको मर्मत सम्हारसँगै रङरोगन थालनी गरिएको जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमान्डेन्ट नवीनकुमार राईलगायतको उपस्थिति थियो ।
View : 216
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved