इटहरी । इटहरी उद्योग वाणिज्य संघको असार २७ गते हुने निर्वाचन यसपटक व्यावसायिक भन्दा बढी राजनीतिक रंगमा देखिएको छ ।
उद्योगी तथा व्यवसायीहरूको साझा संस्था मानिने उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि दुई बलिया प्यानल आमनेसामने हुँदा चुनावी माहोल निकै तातिएको छ ।
निर्वाचनमा एकातर्फ नेपाली कांग्रेस र नेकपा एमाले समर्थित गठबन्धनबाट नवराज काफ्ले नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने अर्कोतर्फ नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा केही असन्तुष्ट कांग्रेस र राप्रपा निकट व्यवसायीहरूको साथमा गायत्री कटवाल भण्डारी नेतृत्वका लागि प्रतिस्पर्धामा छन् ।
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा उम्मेदवारहरूले घरदैलो, भेटघाट र प्रत्यक्ष संवादलाई तीव्र बनाएका छन् ।
अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले नेतृत्व गरिरहेको ‘साझा समूह’ ले व्यवसायीका समस्या सुन्दै आफ्नो योजनासमेत प्रस्तुत गरिरहेको छ ।
काफ्लेले व्यवसायीका साझा समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण, संस्थागत सुधार र नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काफ्लेले आफू निर्वाचित भए संघलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने बताएका छन् ।
इटहरीमा वर्षौंदेखि देखिएका पार्किङ समस्या, घरबहाल कर, व्यावसायिक कर तथा अन्य नीतिगत जटिलता समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर पहल गर्ने उनको योजना छ ।
संघका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराई व्यवसायीले सामान्य कामका लागि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उनको दाबी छ । गायत्री कटवालको उम्मेदवारीले चुनावलाई झन् रोचक बनाएको छ ।
यसअघि कांग्रेसको आधिकारिक उम्मेदवार बन्ने तयारीमा रहेकी कटवाललाई अन्तिम समयमा पार्टीले समर्थन नगरी नवराज काफ्लेलाई अघि सारेपछि उनी स्वतन्त्र शैलीमा चुनावी मैदानमा उत्रिएकी हुन् ।
कांग्रेसभित्रको असन्तुष्ट समूह, नेकपा, माओवादी, रास्वपा तथा राप्रपाका केही व्यवसायी उनको पक्षमा खुलेर लागेका छन् ।
नेकपा सुनसरीका सहसंयोजक मदन चुडालले कांग्रेस–एमाले गठबन्धनको विकल्पका रूपमा गायत्रीलाई समर्थन गरिएको बताएका छन् ।
महिलाको नेतृत्वको परीक्षण गर्ने अवसरका रूपमा समेत यो निर्वाचनलाई हेरिएको उनको भनाइ छ ।
माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघ कोशी प्रदेश अध्यक्ष राजकुमार आचार्यले पनि कटवालको प्यानललाई सहयोग गर्ने स्पष्ट पारेका छन् ।
रास्वपा कोशी प्रदेश अध्यक्ष चन्द्रबहादुर राईले दलीय सिन्डिकेट अन्त्यको अभियानअन्तर्गत गायत्रीलाई समर्थन गरिएको बताएका छन् ।
रास्वपा निकट व्यवसायीलाई पनि कटवालको पक्षमा मतदान गर्न आग्रह गरिएको उनले बताए ।
अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार भण्डारीले व्यवसायीका समस्या समाधानलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेकी छन् ।
’व्यवसायीका समस्याहरू नै हाम्रा मुख्य एजेण्डा हुन्’ भन्ने मूल नारासहित उनले वित्तीय सुरक्षा, कर सरलीकरण, डिजिटल सेवा विस्तार, युवा तथा महिला उद्यमी प्रवद्र्धन, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखेको बताएकी छन् ।
भण्डारीले व्यवसायी राहतका लागि स्थायी अक्षय कोष स्थापना, सहुलियतपूर्ण व्यावसायिक कर्जाको व्यवस्था, युवा उद्यमीका लागि विशेष स्टार्टअप कोष र वित्तीय साक्षरता तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
त्यस्तै, व्यवसायमैत्री कर नीतिका लागि सरोकारवालासँग प्रभावकारी पहल गर्ने, निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने तथा घरभाडा, सम्झौता र बैंकिङसम्बन्धी समस्या समाधानमा सहयोगी भूमिका निर्वाह गर्ने एजेण्डा पनि उनले अघि सारेकी छन् ।
पूर्वाधार विकासअन्तर्गत आधुनिक गोदाम तथा शीतभण्डार निर्माणका लागि पहल गर्ने, इटहरीलाई प्रदेशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, व्यवस्थित बजार तथा पार्किङ व्यवस्थापन र सार्वजनिक–निजी साझेदारी (एएए) मार्फत व्यापार विस्तार गर्ने योजना उनको घोषणापत्रमा समेटिएको छ ।
त्यसैगरी, पारदर्शी र उत्तरदायी डिजिटल प्रणालीको विकास, नियमित प्रगति प्रतिवेदन सार्वजनिक गर्ने, सदस्य–केन्द्रित सेवा प्रणाली लागू गर्ने तथा संस्थागत समाजकल्याण कार्यक्रम सञ्चालनमार्फत सुशासनलाई सुदृढ बनाउने प्रतिबद्धता पनि भण्डारीले व्यक्त गरेकी छन् ।
तर निर्वाचनमा दलगत प्रभाव बढेको भन्दै आलोचना भइरहेको छ । व्यावसायिक संस्था राजनीतिक हस्तक्षेपबाट प्रभावित भएको भन्दै व्यवसायीहरू असन्तुष्टि जनाइरहेका छन् । तर यही दलीय ध्रुवीकरणले यसपटकको चुनावलाई प्रतिष्ठाको लडाइ बनाएको छ ।
एकातर्फ कांग्रेस–एमाले गठबन्धनको बलियो संगठनात्मक शक्ति छ भने अर्कोतर्फ असन्तुष्ट र वैकल्पिक राजनीतिक धारहरूको समर्थनसहित गायत्री कटवालको चुनौती ।
यही कारण इटहरी उद्योग वाणिज्य संघको यो निर्वाचनलाई निजी क्षेत्रको नेतृत्व चयन मात्र नभई इटहरीको भावी आर्थिक दिशा र व्यवसायिक वातावरणसँग जोडिएको महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।
यस पटकको निर्वाचनमा २ हजार ३ सय १५ मतदाता रहेका छन् । ती मतदाताले १९ सदस्यीय कार्यसमिति चयान गर्नेछ ।
View : 189
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved