विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ कुमारगाउँमा कुखुरा फर्मका सञ्चालक ४९ वर्षीय सहदेव बजगाईंलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा सोही फर्ममा काम गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार २७ गते विहान करीव साढे १० बजेको समयमा फर्म सञ्चालक बजगाँई मृत फेला परेका थिए । प्रहरीले अनुसन्धानका क्रममा मोरङकै उर्लाबारी–४ हाटखोला घर भई उक्त कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटीलाई पक्राउ गरेको जनाएको छ ।
घटनापछि फर्ममा कार्यरत दुवैजना फरार भएको र इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेजबहादुर दाहालको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा सुनसरीको धरान–१२ स्थित बलभद्रेश्वर मन्दिर अरुणोदय धर्मशालाको गेष्ट हाउसबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार फर्म संचालक बजगाईं र आरोपी श्रीमान् श्रीमतिबीच पारिश्रमिकको विषयमा विवाद भएको र दुवै जनाको मिलेमतोमा बजगार्इंको टाउको र शरीरको अन्य भागमा बञ्चरो र फलामको दाउ प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो ।
दुवैलाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रवक्ता बस्नेतले बताए ।
View : 157
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved