विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले राष्ट्रिय समाचार समिति (रासस) ले परम्परागत शैलीभन्दा फरक, सुदृढ र प्रविधिमैत्री समाचार उत्पादन गर्नुपर्ने बताएका छन् ।
रासस कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आयोजित ६५ औं वार्षिकोत्सव तथा पुरस्कार समर्पण समारोहमा मन्त्री पराजुलीले रासस विराटनगरकी कार्यालय सहयोगी गौरीका रञ्जीतलाई ‘बासु रिमाल यात्री स्मृति पुरस्कार’ प्रदान गर्दै सो विचार राखेका हुन् ।
मन्त्री पराजुलीले सत्यतथ्यका आधारमा सूचना उत्पादन गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न राससलाई सुझाव दिए । उनले समाचारलाई विश्वासिलो बनाई जनमानसमा सकारात्मक सन्देश फैलाउनुपर्नेमा जोड दिए ।
राससले अहिलेको समयको माग अनुसार विश्वसनीय समाचारको स्रोत निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री पराजुलीले आगामी निर्वाचनमा सबै दलको सक्रिय सहभागिताबाट सफल बनाउनु पर्ने कुरामा समेत जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले राससले आफ्ना समाचारमा सुधार गरेको धारणा राखे । उनले निजी क्षेत्रका समाचार संस्थाको माग अनुसार समाचार उत्पादन गर्न आग्रह गरे ।
त्यस्तै, नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले राससले आफ्नो वार्षिकोत्सवमा सबै प्रदेशका एक–एक जना समाचारदातालाई पुरस्कृत गर्नुपर्ने र जिल्ला समाचारदाताको पारिश्रमिक वृद्धि गर्नुपर्ने सुझाव दिए ।
रासस प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुल र नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले राससले आफ्नो सेवालाई चौबीसै घण्टा सञ्चालन गर्नुका साथै विभिन्न भाषामा समाचार, अडियो, भिडियो र पोडकास्टसमेत उत्पादन गर्दै आएको जानकारी गराए ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता थियो ।
View : 110
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved