Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

महानगरमा आगलागी नियन्त्रण पूर्वतयारी

दमकललाई पानी भर्न सनसारीमाईस्थानमा जडान भएको डिप बोरिङ सञ्चालनमा

जडान भएको डिप बोडिङबाट पाँच हजार लिटरको ट्यांकी २० मिनेटमा भरिएको थियो भने तीन हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो ।
उद्‌घोष सम्वाददाता
१८ फागुन २०८०, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागीको जोखिम न्यूनिकरणका लागि विराटनगर–१० स्थित सनसारीमाईस्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा आएको छ ।

महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी फागुन ४ मा त्यहाँ डिप बोरिङ गाडेको थियो । जडान भएको डिप बोडिङबाट पाँच हजार लिटरको ट्यांकी २० मिनेटमा भरिएको थियो भने तीन हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो ।

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाले शुक्रबार बिहान दुईवटा दमकलबाट पानी भरेर परीक्षण गरेको थियो । 

महानगरले बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा सो स्थानबाट दमकलमा पानी भर्ने गरी डिप बोरिङ जडान गरेको मेयर कोइरालाले बताए । यसअघि बजार र महानगरको दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालय परिसर वा पुष्पलाल चोक नै पुग्नुपर्ने बाध्यता थियो । 

नयाँ बोरिङका कारण अब आगलागीजन्य घटनामा दमकललाई पानी भर्न सहज भएको मेयर कोइरालाले बताए । उनले अन्य ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी भइरहेको जानकारी दिए । 

सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गर्दछ । विराटनगर बजार क्षेत्रमा अझ धेरै जोखिम हुने भएकोले दकमललाई पानी भर्ने स्थान अति आवश्यक हुँदै आएको थियो । 

आगलागी नियन्त्रणको पूर्वतयारी स्वरुप महानगरले दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनौट गरी डिप बोरिङ जडान गर्ने कार्य अगाडि बढाएको कोइरालाले बताए । 

‘अन्य स्थानमा पनि डिप बोरिङ जडान गर्ने योजना छ’ मेयर कोइरालाले भने, ‘कसरी विराटनगरवासीलाई राहत पुग्छ भनेर हामीले काम गरिरहेका छौं, सनसारीमाईस्थानमा जडान गरिएको डिप बोरिङबाट बजार र आसपासको क्षेत्रमा आगलागी भइहाले तत्कालै नियन्त्रण गर्न सहज हुनेछ ।’ 

उपमेयर शिल्पा निराला कार्कीले पनि बजार क्षेत्रमा आगलागी भइहाले समयमै नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने जानकारी दिइन् । उनले समयमै पानी भरेर दमकल घटनास्थल पुग्न पाएको खण्डमा आगलागीबाट हुने क्षति कम हुने बताइन् । 

पुष्पलालचोकस्थित वारुणयन्त्रको बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले बताए । 

ठाउँ–ठाउँमा डिप बोरिङ जडान गरी आगलागी नियन्त्रणको पूर्वतयारी गरेर महानगरले निकै नै प्रशंसनीय कार्य गरेको स्थानीयले बताएका छन् । स्थानीय सहदेव यादवले हेर्दा र सुन्दा सामान्य लागेपनि विराटनगरवासीका लागि महानगरले धेरै नै महत्वपूर्ण कार्य भएको बताएका थिए ।

View : 253

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved