विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार भएका दुईवटा खेलमा बागमती र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा टस जितेर बलिङ रोजेको गण्डकीलाई १०० रनको फराकिलो अन्तरले पराजित गर्दै बागमती विजयी भएको हो ।
बागमतीले ५० ओभरमा ५ विकेट गुमाउँदै २२९ बनाएको थियो । नितेश कुमारले नटआउट ५३ रन जोडे ।
उत्तम मगरले ४०, रिङजिङ लामाले ३९, गोकुल अधिकारीले ३६, रोशन विश्वकर्माले २६ र सुर्याङ्सु कोइरालाले बागमतीका लागि २० रन बनाए । गण्डकीका किरण भट्टराईले ३, सुदीप अर्याल र अपराजित पौडेले १–१ विकेट लिए ।
२३० रनको लक्ष्य पछ्याएको गण्डकीले ३६ ओभरमा अलआउट हुँदै १२९ रन बनायो । जसमा कप्तान अर्जुन कुमालले ३१, सिब्रिन श्रेष्ठले २९, रोहित चन्दले २१ र सुजन गौतमले १६ रन बनाए । बागमतीका दिनेश विष्ट र दीपक सेरलाले ३÷३, दयानन्द मण्डल२ र रोशन विश्वकर्माले १ विकेट लिएका थिए ।
प्लेयर अफ द म्याच बागमतीका नितेश कुमार बने । गण्डकीको २ खेलमा २ अंक छ भने बागमती १ खेलबाट २ अंक जोडेको छ ।
त्यसैगरी मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अर्काे खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले पराजित गरेको छ । सुदूरपश्चिमले टस जितेर लुम्बिनीलाई ब्याटिङमा निम्ता दिएको थियो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले ३८ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनायो । धिरस सुनारले सर्वाधिक ३८ रन जोडे ।
निर्मल गुरुङ २७, सम्राट भुसाल र निर सार्कीले २५–२५ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामी, युवराज खत्री र अशोक धामीले ३–३ विकेट विकेट लिएका थिए ।
१५७ रनको विजयी लक्ष्य पाएको सुदूरपश्चिम ३५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११५ रनमा अलआउट हुन पुग्यो ।
युवराज खत्रीले सर्वाधिक २२ रन बनाए । त्यस्तै कैलाश ऐरले २१, नरेन भट्ट र प्रकाश पाण्डेले १३–१३ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले ५, सन्तोष यादवले ४ र आकाश त्रिपाठीले १ विकेट लिए । प्लेयर अफ द म्याच रमेश कुर्मी घोषित भए । लुम्बिनीले २ खेल जित्दै ४ अंक बनाएको छ ।
मंगलबार बैजानाथपुर क्रिकेट मैदानमा सुदूरपश्चिम र कर्णाली तथा मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा मधेस र बागमती प्रदेशबीच खेल हुने आयोजक कोशी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
View : 97
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved