थामे बाढी
विराटनगर । शुक्रबार अपरान्हको भीषण बाढीपछि गेग्र्यानयुक्त बगरमा परिणत भएको सोलुखुम्बुको थामे गाउँमा राहत, पुनर्स्थापना र पुनर्निमाणका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले आह्वान गरेको छ । गाउँपालिकाले मंगलबार सार्वजनिक अपिल गर्दै सहयोगका लागि व्यक्ति तथा संघसंस्थाहरुलाई आग्रह गरेको हो ।
थामे बस्तीभन्दा माथिबाट हिम पोखरी फुट्दा आएको बाढीले एउटा विद्यालयसहित १८ व्यवसायिक एवं आवासीय भवनहरूलाई बाढीले बगाएको गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । अन्य कयौँ घरहरू समेत कटानको जोखिममा रहेको उनले बताए ।
बाढी प्रभावितहरूलाई तत्काल राहत तथा पुनर्स्थापनाका लागि ठुलो रकम आवश्यक पर्ने भएकोले सहयोगका आह्वान गर्नुपरेको अध्यक्ष शेर्पाले बताएका हुन् ।
महंगो दुवानी भाडा, क्षतिग्रस्त संरचनाको अवस्था समेतलाई दृष्टिगतगर्दा विपद् पश्चातका सम्पूर्ण कार्य गर्न गाउँपालिकाको लगानी मात्र पर्याप्त नहुने देखिएको गाउँपालिका अध्यक्ष शेर्पाले आह्वान गरेको अपिलमा उल्लेख छ ।
‘विपदको यस घडिमा राहत तथा पुनःस्थापना लगायतका कार्यका लागि सरकारी, गैर सरकारी, व्यक्तिगत तथा संस्थागत रुपमा आर्थिक सहयोगको अपिल गर्दै आर्थिक सहयोग गर्न चाहनु हुने सबैले एकद्वार प्रणाली मार्फत सहयोग गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको तपसिल बमोजिमको बैंक खातामा रकम जम्मा गर्नु हुन’ आग्रह गरिएको छ ।
गाउँपालिकाले सामग्री सहयोगका लागि गाउँपालिकाको अनुमति तथा वडा कार्यालयसँग अनिवार्य समन्वय गर्न पनि आग्रह गरेको जनाइएको छ । सहयोग गर्नेहरूका लागि गाउँपालिकाले लुक्लास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा रहेको बैंक खाता सार्वजनिक गरेको छ ।
यसैबीच, थामे बाढी प्रभावितहरूका लागि गाउँपालिकाका कर्मचारीहरूले रकम उपलब्ध गराउने निर्णय गरेका छन् । आइतबार बसेको कर्मचारीहरूको बैठकबाट अधिकृतस्तरका कर्मचारीले ३ दिन, सहायकस्तरका कर्मचारीले २ दिन र श्रेणीविहीन कर्मचारीले १ दिनको तलब उपलब्ध गराउने निर्णय गरेका हुन् ।
View : 349
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved