विराटनगर । लगातार वर्षापछि उर्लिएको सप्तकोशीको बाढी पश्चिम किनाराबाट ओभरफ्लो भएर उदयपुरको बेलका नगरपालिकातिर पसेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सप्तकोशीले पश्चिम धार कटान गरी बेलकातिर बाढी पसेको जनाइएको छ । बेलका नगरपालिका–८ सोमबारेभन्दा तल लाहुरे खोज नजिकै तारजाली सहितको बाँध कटान गरेर पश्चिमतर्फ बाढी पसेको जनाइएको छ ।
करिव २५ मिटर बाँध कटान गरेर बेलका–३ को एकता टोल र एबीसी टप्पुतर्फ बाढी पसेको जनाइएको छ । ती स्थानमा डुबान हुने सम्भावना रहेको भन्दै इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले ३६ घरधुरीका पुरुष ३१, महिला ७५ र बालबालिका २१ गरी १२७ जनालाई उद्धार गरेको जनाइएको छ ।
बिस्थापित भएका घरपरिवार मध्ये १९ जनालाई कोशी जनता मावि रामपुरको भवनमा राखिएको प्रहरीले जनाएको छ । अन्य मानिसहरू भने आफन्तकहाँ आश्रय लिइरहेको पनि जनाइएको छ ।
बाढीका कारण सिसौलीघाटस्थित सिसौली बस्तीका २० घरमा क्षति पुर्याउन सक्ने भन्दै सतर्कता अपनाइएको जनाइएको छ ।
कोशीको पानी बेलकातिर पसेको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले समेत पुष्टि गरे । उनले दुई वर्ष अघि पश्चिमतिरको डिल भत्किएर पानी पसेको ठाउँको छेउबाट यसपटक पानी ओभरफ्लो भएर बस्तीतर्फ पसेको बताए ।
‘दुई वर्ष अघि पनि त्यही ठाउँबाट पानी बस्तीतिर सोझिएको रहेछ, अहिले पनि त्यहीँ माथिबाट पसेको छ’, घिमिरेले भने ‘पानीको बहाव लगातार बढेका कारण अझै धेरै पानी बस्तीतिर जाने खतरा बनेको छ ।’
प्रजिअ घिमिरेले टापुहरूको बीचमा रहेका धेरै व्यक्तिहरू भनेँ घर छाडेर हिँड्न नमानेको बताए । ‘हामीले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तैनाथ पारेर राखेका छौँ’ उनले भने ।
View : 321
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved