Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

सरकार घाटामा : पाँच महिनामा आम्दानी ३ खर्ब ८३ अर्ब, खर्च ४ खर्ब ५२ अर्ब

उद्घोष सम्वाददाता
१ पुष २०८०, आइतवार

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ का लागि संघीय सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मंसिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ ।

चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मंसिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो पाँच महिना अवधिमा चालु खर्च ३१.५३, पुँजीगत खर्च ११.९४ र वित्तीय व्यवस्थातर्फको खर्च १८.५२ प्रतिशत छ ।

चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट ल्याइएकामा मंसिर मसान्तसम्ममा ३ खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख रुपैयाँबराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा हालसम्म ३६ अर्ब ६ करोड ३ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ लाख ३६ हजार रुपैयाँ बराबर वार्षिक विनियोजन रहेकामा हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

चालु आवको पहिलो पाँच महिना अवधिमा सरकारको राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको देखिँदैन । चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २६.०७ प्रतिशत अर्थात् ३ खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ बराबर मात्रै राजस्व संकलन भएको छ ।

यो अवधिसम्मको सरकारको आयव्ययको विश्लेषण गर्दा आम्दानीको तुलनामा  ६९ अर्ब ७ करोड १५ लाख रुपैयाँ बढी खर्च भएको छ । अर्थात् पाँच महिना अवधिमा ६९ अर्ब रुपैयाँभन्दा बढीको बजेट घाटा सरकारले व्यहोरेको छ ।

सरकारले चालु आवमा कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख र गैरकर राजस्वतर्फ १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ बराबर संकलन गर्ने उद्देश्य राखेको छ । त्यस्तै ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने सरकारी लक्ष्य छ ।

चालु आर्थिक वर्षको सुरुआती पाँच महिनाको अवधिमा कर राजस्व संकलन वार्षिक लक्ष्यको २५.८३ प्रतिशत अर्थात् ३ खर्ब ३७ अर्ब १८ करोड ६७ लाख रुपैयाँ छ भने गैरकर राजस्व संकलन वार्षिक लक्ष्यको २२.४२ प्रतिशत अर्थात् २६ अर्ब २४ करोड २५ लाख रुपैयाँ बराबर छ । चालु आवको मंसिर मसान्तसम्ममा सरकारले २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिएको छ । रासस

View : 166

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved