विराटनगर । पत्रकारहरूलाई आर्थिक रूपमा सबल बनाउन सहकारीको माध्यमबाट सहयोग गर्ने उद्देश्यले स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १४औं साधारण सभा शुक्रबार विराटनगरमा सम्पन्न भएको छ ।
साधारण सभाले शेयर सदस्यहरूलाई गत वर्षको कारोबारबाट प्राप्त गरेको खुद आम्दानी अनुसार ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।
सहकारीले आव २०८१–८२ मा एक करोड १३ लाख ८८ हजार रुपैयाँ बराबरको वित्तीय कारोबार गरी पाँच लाख आठ हजार ९६४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जनाइएको छ ।
२०६९ सालमा विराटनगरका अग्रज पत्रकार एवं उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलगायतको पहलमा स्थापित यस सहकारी संस्थामा हाल १२१ जना शेयर सदस्य रहेका छन् ।
साधारण सभाले अध्यक्ष दीपक दाहालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक अविनाश निधिले प्रस्तुत गरेको आयव्ययलगायतका वित्तीय प्रगति विवरण छलफलपछि पारित गरेको छ ।
सहकारी संस्थाले १४औं वार्षिक साधारण सभाको अवसर पारेर उत्कृष्ट बचतकर्ता र ऋणी, विभिन्न तहमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने शेयर सदस्यका सन्तान र विद्यावारिधि हासिल गर्ने शेयर सदस्यहरू सहित नौ जनालाई सम्मानित गरेको छ ।
नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित साधारण सभामा विद्यावारिधि गर्ने शेयर सदस्यद्वय डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाललाई सम्मान गरिएको छ। यस पटकको अग्रज शेयर सदस्य सम्मान केशवबहादुर कार्कीलाई प्रदान गरिएको छ ।
संस्थाले असल ऋणी सम्मान शेयर सदस्य अनिल श्रेष्ठलाई र उत्कृष्ट बचतकर्ताका रूपमा शेयर सदस्य कुलानन्द गच्छदार र कविता घिमिरेलाई सम्मान गरेको हो ।
सहकारी संस्थाले यसै वर्षदेखि सुरु गरेको शेयर सदस्यका सन्तानलाई शैक्षिक पुरस्कार अन्तर्गत एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने श्रेय शर्मा र मेघा श्रेष्ठलाई सम्मानित गरेको छ ।
त्यस्तै, कक्षा १२ र सीटीईभीटी तीन वर्षे तहतर्फ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने मृदुला विष्ट र हृषव पोखरेललाई नगदसहित पुरस्कृत गरिएको हो ।
साधारण सभाका प्रमुख अतिथि जिल्ला अदालत मोरङका न्यायाधीश केशवप्रसाद घिमिरेले सम्मानित तथा पुरस्कृतहरूलाई कदरपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
उक्त अवसरमा बहुद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारी, कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेल र नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सञ्चारकर्मी सञ्चार सहकारीको आवश्यकता र औचित्यबारे धारणा राख्दै संस्थागत विकास गर्दै अघि बढ्न शुभकामना दिएका थिए ।
View : 427
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved