Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नबिल बैंकको सीईओमा सीए ज्ञवाली नियुक्त

नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ३६ लाख ५ हजार ७८३ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको थियो ।  सो बैंकले सीईओलाई खुद तलब बापत १ करोड ३२ लाख ५३ हजार २२६ रुपैयाँ र  अन्य लाभ तथा सुविधा बापत ९५ लाख ५७ हजार ३६३ रुपैयाँ भुक्तानी गरेको थियो ।
उद्‌घोष संवाददाता
२२ जेठ २०८२, बिहिवार

विराटनगर । तलब र सुविधामा आकर्षक मानिदै आएको नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सीए मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बिहान बसेकोे सञ्चालक समितिको  ६८२ औं बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । नेपालका बैंकहरुमा पारिश्रमिक र सुविधामा आकर्षक मानिने  नबिलमा रिक्त रहेको सीईओ पदमा को नियुक्त हुने हो भनेर भने बैंकिङ क्षेत्रमा सरोकार राख्नेहरुको चासो बढेको थियो ।

नबिल बैंकले गत आर्थिक वर्षमा सीईओको  तलब तथा सुविधा वापत मासिक १९ लाख ६७ हजार एक सय ४९ रुपैयाँ भुक्तान गरेको थियो  ।  नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ३६ लाख ५ हजार ७८३ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको थियो । 

सो बैंकले सीईओलाई खुद तलब बापत १ करोड ३२ लाख ५३ हजार २२६ रुपैयाँ र  अन्य लाभ तथा सुविधा बापत ९५ लाख ५७ हजार ३६३ रुपैयाँ भुक्तानी गरेको थियो ।

नबिलका सीईओ रहेका ज्ञानेन्द्रप्रसाद ढुंगानाले गत २०८१ चैैत १२ गते राजीनामा दिएका थिए । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा नियुक्त हुने सम्भावना बढेपछि ढुंगानाले सीईओबाट राजीनामा दिएका दिएको त्यसबेला चर्चा बढेको थियो । २०८१ जेठमा २ वर्षका लागि नियुक्त भएका उनी गभर्नर हुने देखेपछि १४ महिना बाँकी हुँदै राजीनामा दिएका थिए । तर नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्व पौडेल नियुक्त भएका छन्  । 

सीईओमा नियुक्त भएका सीए ज्ञवाली यस अघि कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै आएका थिए । उनी बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुली सकेका छन् । 

सीए ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको सो बंैकले जनाएको छ ।

त्यस्तै सोही समितिले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
 
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । 
 

View : 296

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved