विराटगनर । विराटगनर महानगरपालिकाको आन्तरिक आय लक्ष्यको आधा र घर–जग्गाको कारोबार नबढ्नाले विराटनगर महानगरपालिकाको आम्दानी घटेको हो ।
विराटनगर महानगरपालिकाले गत साल असारमा ल्याएको आर्थिक वर्ष ०८०।०८१ को ३ अर्ब २८ करोड ५० लाखको अनुमानित बजेटमा आन्तरिक आय ८७ करोड हुने अनुमान गरिएको थियो । त्यसमध्ये अहिलेसम्म ४४ करोड मात्र राजस्व संकलन भएको छ ।
राजस्व महाशाखाका प्रमुख सरोज गौतमका अनुसार महानगरको आन्तरिक आम्दानीको प्रमुख स्रोत भनेको मालपोत कार्यालयबाट प्राप्त हुने घर–जग्गा कर नै हो । त्यसबाट ४५ करोड आम्दानी हुने अनुमान गरिउकोमा १६ करोड ८७ लाख मात्र गत चैत्र मसान्तसम्ममा संकलन भएको छ ।
त्यस्तै मूल्य अभिवृद्धिकर र अन्तःशुल्क गरी जम्मा २० करोड संकलन हुने लक्ष्य राखेकोमा हालसम्म १३ करोड ४० लाख मात्र संकलन भएको छ । सवारी साधनबाट ४ करोड संकलन हुने लक्ष्य राखेकामा ३ करोड ८२ लाख मात्रै संकलन भएको छ ।
वित्तीय समानीकरण अनुदानबाट ३४ करोड प्राप्त हुने लक्ष्य रहेकोमा २५ करोड ८३ लाखा मात्र उठेको छ । विशेष अनुदानबाट ६ करोड प्राप्त हुने लक्ष्य छ । प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ४० लाख ८८ हजारमा सबै रकम प्राप्त भएको छ भने ससर्त पूँजीगत अनुदानमा १ करोड ३२ लाख प्राप्त हुने अनुमान छ ।
नगरवासीमा महानगरलाई कर तिुर्न नपरे हुन्थ्यो भन्ने प्रवृत्ति रहेकाले पनि सहज रूपमा कर संकलन हुन सकेको छैन । अनेकौं बहानामा कर छल्ने प्रवृत्तिबाट राजस्वका कर्मचारीहरू हैरान भएका छन् । घर–घर गएर महानगरलाई तिर्नु पर्ने कर तिर्नु होस भन्दा पनि बाध्यतात्मक अवस्था नआउञ्जेलसम्म केही पनि कर तिर्न तयार हुँदैन ।
अन्य क्षेत्रबाट आउने खुद्रा करमध्ये वन रोयल्टीबाट महानरलाई चार लाख रूपैयाँ, मनोरञ्जन कर शीर्षकबाट १२ लाख रूपैयाँ र विज्ञापन करबाट चार लाख रूपैयाँ संकलन भएको छ ।
View : 207
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved