Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

भत्काएर अलपत्र छाडियो नमूना सडक

उद्घोष सम्वाददाता
३० असार २०८१, आइतवार

विराटनगर । विराटनगरको मेनरोडबाट उत्तरी विराटनगरलाई जोड्ने तिनपैनी–पुष्पलाल चोक सडकखण्डको केही भागमा सडक भत्काएर छाडिंदा आवागमनमा झन सास्ती भएको छ । नमूना मार्गका रुपमा निर्माण गरिएको उक्त सडकको पुष्पलाल चोक दक्षिणतर्फको बायाँपटिको सडक खनेर छाडिएको हो । जसका कारण त्यहाँ सवारी साधन संचालनमा निकै कठिनाई भइरहेको गुनासो बढ्दै जान थालेको छ ।

उक्त सडकको क्षमताभन्दा बढी गिटी बालुवा बोक्ने ट्रक र टिपर चलेका कारण नमूना सडकका विभिन्न ठाउँमा खाल्डाखुल्डी पर्नुका साथै सडक नै चिरा परेको थियो । विराटनगर महानगरपालिकाले खाल्डाखुल्डीमात्रै मर्मत गर्नुभन्दा सडकको ‘बेस’ नै परिवर्तन गरेर सडक मर्मतको काम अघि बढाएको हो ।

खाल्डाखुल्डीपर्दा स्थानीयको गुनासो धेरै आएपछि मर्मतको काम सुरु गरिएको महानगरपालिकाको भनाइ छ । स्थानीयले भने असार साउनको मौसम सुरु भएपछि महानगरपालिकाले मर्मतको काम अघि बढाएर झन समस्या थपिदिएको गुनासो गरेका हुन् ।

पानी पर्दा झनै हिलो भएको र झन ठुलो खाल्डोहरु परेको स्थानीय मातृका निरौलाले बताए । उनले असार १ गतेनै सडकमा डोजरले जोतेर छाडेको तर अहिलेसम्म निर्माण नगरेको गुनासो गरे । 

‘असार १ गते जोत्यो, बनाउने भनेर जोतेको होला भनेर हामी सवै चुपै लागेर बसेका थियौं, अहिले जोतेको ठाउँमा ठुल्ठुला खाल्डा परेका छन्, बनाउने निकाय कोही देखिएका छैनन्’ उनले भने, ‘मान्छेहरु खाल्डोमा परेर लडिरहेका छन्, नगरपालिकाले केही त गर्नुपर्छ नि, बाटोमा हिंड्नै नसक्ने गाडी चल्नै नसक्ने अवस्था भयो ।’

उनले तत्कालै काम अघि नबढाए महानगरपालिकामा डेलिगेशन गएर ध्यानाकर्षण गराउने र त्यति गर्दा पनि सडक नबनाए बाटो नै अवरुद्ध गर्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

विराटनगर महानगरपालिकाका साइट इन्जिनियर सुजनराज श्रेष्ठले भने भत्किएको सडक मर्मतकै लागि खनेर बेस हालेर छाडिएको बताए । उनले तत्कालै बेस मिलाउँदा सवारी साधनको गति झन बढी हुने र पानी परेको बेलामा थप जोखिम हुने भएकोले तत्काललाई बेस खन्याएर छाडिएको जानकारी दिए । 

असारको महिनामा पानी लगातार परिरहेका कारण समेत काम अघि बढाउन कठिनाई भएको उनले बताए । महानगरपालिकाले पूर्ण रुपमा भत्किएको सडकलाई बनाउनकै लागि भनेर बेस हालिसकेको इन्जिनियर श्रेष्ठले स्पष्ट पारे । 

‘नमूना सडकको डेढ किलोमिटर खण्डमा मर्मत गर्ने तयारी महानगरपालिकाले अघि बढाएको हो,अहिले पाँच सय मिटरमात्रै भत्किाएका छौं, पानी परिरहेका कारण काम अघि बढाउन कठिनाइ भइरहेको छ’ उनले भने, ‘विगतमा मानगढ सडक खण्ड बन्द भएपछि बाइपास रोडका रुपमा नमूना रोडमा गिटी बालुवा बोक्ने ठुला हाइबा र टिप्पर पनि चलेर बाटो बिग्रिएको हो, महानगरले ठेक्का निकालेर मर्मतको काम अघि बढाएको छ, पानीले गर्दा थप समस्या भएको हो ।’

उनले पुष्पलालचोकदेखि नोबेल डेरी चोकसम्मको खण्डमा भत्काएरनयाँ बेस हाल्ने र पेल्ने काम बाँकी रहेको जानकारी दिए । अहिले नै सडक पेल्दा गाडीको गति धेरै हुन सक्ने र जोखिम हुने उनले बताए । विगतमा धेरै खाल्डाखुल्डी भएको गुनासोकै आधारमा महानगरपालिकाले सडक मर्मतको काम अघि बढाएको जानकारी दिए । साथै बर्षात रोकिएपछि तत्कालै काम अघि बढ्ने जानकारी दिए । नयाँ बन्ने सडक अझ राम्रो स्वरुपमा निर्माण हुने बताए ।

View : 235

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved