विराटनगर । राष्ट्रिय योजना आयोगले १६ औँ योजना कार्यान्वयन, कम विकसित मुलुकबाट स्तरोन्नति, उद्योग वाणिज्य क्षेत्र तथा भन्सार नीतिबारे सरोकारवालाहरूबीच छलफल तथा अन्तरक्रिया गरिएको छ ।
राष्ट्रिय योजना आयोग र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा सोमबार अन्तरक्रिया गरिएको हो ।
आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालले अब निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । ‘नेपालको निर्यात व्यापार विस्तारका लागि कृषि, जडीबुटी, अलैँची, चिया, अदुवा, सुपारीजस्ता नगदे बालीलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्छ’ उनले भने, ‘यस्ता कार्यक्रमहरू नीति निर्माणमा प्रत्यक्ष सघाउने छन् ।’
उनले भन्सार पूर्वाधारको सुधार, भन्सार प्रक्रियामा सहजता, गुणस्तर प्रमाणीकरण, अन्तर्राष्ट्रिय बजारको पहुँच, यातायात पूर्वाधारमा लगानी र निजी क्षेत्रसँग सहकार्यलाई दिगो विकासको मेरुदण्डका रूपमा प्रस्तुत गरेका थिए ।
छलफलमा आयोगकी सदस्य गीता अधिकारीले आगामी बिर्तामोडमा सुरु हुने भूटान, बंगलादेश, भारत र नेपालको चार देशीय विज्ञ समूहको कार्यशालामा कोशी प्रदेशका भन्सार नाकाबाट निर्यात हुँदै आएका वस्तुहरू र एसियन हाइवे जस्ता सम्भावनाका विषयमा समेत विस्तृत छलफल गरिने जानकारी दिइन् ।
कार्यक्रममा सहभागी व्यवसायीहरूद्वारा नेपालबाट हाल निर्यात भैरहेका चिया, अलैँची, अदुवा, सुपारी, जडीबुटी लगायतका नगदे बाली तथा भविष्यमा सम्भावित अन्य कृषिजन्य वस्तुहरूका बारेमा धारणा राखेका थिए ।
निर्यात व्यवसायी महासंघकी उपाध्यक्ष एवं चिया निर्यातकर्ता शान्ता बाँस्कोटाले नेपालको जैविक चिया, जडीबुटी र अन्य कृषिजन्य उत्पादनमा अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमार पोखरेलले निजी क्षेत्रको अनुभव र सरकारी नीतिको सहकार्यमा निर्यात व्यापार सुदृढ बनाउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरे ।
सहभागी उद्योगी व्यवसायी, कृषकहरूले सीमापार व्यापारमा भन्सार सहजता, यातायात सञ्जाल विस्तार, भन्सार जाँच प्रक्रियामा सुधार, विदेशी बजारमा पहुँच विस्तार लगायतका सुझाव तथा अनुभवहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आयोगका सहसचिव खुमराज कोइराला, मेची भन्सार कार्यालयका अधिकृत हरिहर पौडेल, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, गोकुल श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य केशवमणि पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, दमक उद्योग वाणिज्य संघका गोपाल गुरागाईँ, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्की लगायतले निर्यात व्यापारका समस्या प्रस्तुत गरेका थिए ।
View : 293
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved