Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

पूवि डीन कार्यालयमा तालाबन्दी : गोठगाउँ सार्ने निर्णयको विराटनगरमा विरोध

तालाबन्दी गर्ने पक्षले सार्वजनिक रूपमा कुनै लिखित कागजपत्र नदिए पनि उनीहरूको मुख्य माग विराटनगरमा रहेको डीन कार्यालय गोठगाउँमा सार्ने कार्य रोकिनुपर्छ भन्ने रहेको छ ।  वार्तामा सहभागी स्थानीय नागरिकको तर्फबाट धेरैजसो नेपाली कांग्रेस समर्थक नेताहरू रहेको बताइएको छ ।
उद्‌घोष संवाददाता
१७ मंसिर २०८२, बुधवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को विराटनगरस्थित जनता क्याम्पस परिसरमा रहेको डीन कार्यालयमा तालाबन्दी भएको छ ।

विश्वविद्यालयले डीन कार्यालयलाई गोठगाउँस्थित केन्द्रीय कार्यालयमा सार्ने निर्णय गरेपछि त्यसको विरोधमा ‘स्थानीय सरोकार समाज’ ले तालाबन्दी गरेको हो ।

जनता क्याम्पसको नवनिर्मित भवनमा पूविको कला, कानुन तथा शिक्षा सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय, इञ्जिनियरिङ सङ्काय र व्यवस्थापन सङ्कायका डीन कार्यालयहरू सञ्चालनमा रहेका छन् । 

अहिले कला, कानुन तथा शिक्षा संकाय र विज्ञान, प्रविधि संकाय मात्र सार्न लागिएको छ । चिकित्सशास्त्र संकाय भने पूवि केन्द्रीय कार्यालय गोठगाउँमा नै छ । 

विरोध स्वरूप आइतबार बेलुका जनता क्याम्पस परिसरको मूल प्रवेशद्वारमा ताला लगाइएको थियो । सहमति नभएपछि सोमबार डीन कार्यालय भवनको मूल प्रवेशद्वारमा समेत ताला लगाइएको छ । 

तालाबन्दीका कारण डीन कार्यालय परिसरभित्र केन्द्रीय कार्यालय जाने बस समेत थुनिएको छ । यसपछि कर्मचारीहरूलाई कृषि कलेजको गाडी प्रयोग गरेर गोठगाउँ ओसारपसार गरिएको जनाइएको छ ।

डीन कार्यालय सार्ने कार्य रोक्नुपर्ने माग राख्दै आएको स्थानीय पक्षसँग विश्वविद्यालय पदाधिकारीको टोलीले वार्ता गरे पनि सहमतिमा पुग्न सकेन । 

विश्वविद्यालयका प्रशासक फडिन्द्रराज गौतमले तालाबन्दी गर्ने पक्षसँग दुई पटक वार्ता बसे पनि निष्कर्षमा नपुगेको बताएका छन् ।

तालाबन्दी गर्ने पक्षले सार्वजनिक रूपमा कुनै लिखित कागजपत्र नदिए पनि उनीहरूको मुख्य माग विराटनगरमा रहेको डीन कार्यालय गोठगाउँमा सार्ने कार्य रोकिनुपर्छ भन्ने रहेको छ । 

वार्तामा सहभागी स्थानीय नागरिकको तर्फबाट धेरैजसो नेपाली कांग्रेस समर्थक नेताहरू रहेको बताइएको छ ।

विश्वविद्यालयका प्रशासक फडिन्द्रराज गौतमले डीन कार्यालय केन्द्रीय कार्यालयसँग जोडिएकाले पहिले नै गोठगाउँमा सार्ने निर्णय भइसकेको स्पष्ट पारेका छन् ।

उनका अनुसार, गोठगाउँमा पूविको ८०५ बिघा जग्गा उपलब्ध छ भने विराटनगरमा सानो ठाउँमा कार्यालय सञ्चालन गर्नुपरेको छ ।

कानुन पढ्ने विद्यार्थीहरू बढेकाले उनीहरूको पठनपाठनका लागि थप कक्षाकोठा आवश्यक भएकोले पनि डीन कार्यालय सार्न लागिएको उनले जानकारी दिए ।

View : 432

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved