Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

रंगेलीमा आन्दोलन फिर्ता : कांग्रेस र एमालेबीच कानुन बमोजिम कर घटाउने सहमति

उद्घोष सम्वाददाता
३१ भदौ २०८१, सोमवार

विराटनगर । कर वृद्धिलगायतका विषयमा असन्तुष्टि जनाउँदै मोरङको रंगेली नगरपालिकामा आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले आइतबारदेखि आन्दोलन फिर्ता लिएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेका जिल्लास्तरीय नेताहरूबीच भएको छलफलपछि कांग्रेसले आन्दोलन फिर्ता लिने सहमति भएको हो । छलफलले रंगेली नगरपालिकाको चालु आर्थिक बर्षको आर्थिक ऐन २०८१ अनुसार करका केही दर घटाउने सहमति गरेपछि कांग्रेसले आन्दोलन फिर्ता लिएको हो ।

बिहीबारदेखि रंगेलीमा कांग्रेसले आन्दोलन गर्दै आएको थियो । आइतबार दुवै दलका जिल्ला अध्यक्षहरूसहित नेताहरूको रोहबरमा सहमति भएका कारण आन्दोलन फिर्ता लिएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए ।
उनले नेकपा एमाले र नेपाली कांग्रेसका जिल्लास्तरीय नेतृत्वको छलफल र संवाद भई सहमति भएको उल्लेख गरेका छन् ।

जारी आन्दोलनका कारण स्थानीय जनताले नगरपालिकाबाट लिने सेवासमेत प्रभावित भएको भन्दै आन्दोलनलाई निरूपण गर्न नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला र सचिव मोदराज घिमिरे तथा नेकपा एमाले मोरङका तर्फबाट अध्यक्ष बाबुराम कार्की र सचिव रविन थापालगायतले हस्ताक्षर गरेर शान्तिपूर्ण रूपमा निकास खोज्ने बाटोमा सहमति गरेका हुन् ।

२०८१ असार १० मा सम्पन्न भएको रंगेली नगरपालिकाको नगरसभाबाट पारित भएको आर्थिक ऐन २०८१ मा केही संशोधन गरी नगरपालिकाले लगाएका केही करका दरहरू घटाउन सहमति भएबमोजिम सर्वदलीय बैठक बसेर सहमति भएको जनाइएको छ । नगरपालिकाले विशेष नगरसभाबाट दुई दलबिच भएको सहमतिलाई कानुन बमोजिम हुने गरी संशोधन गर्ने जनाइएको छ ।

View : 83

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved