भण्डारीको जमिनमा पिच बनेपछि पौडेलले बनाएको घर । तस्वीर : उद्घोष
झापा । खोला किनारमा तटबन्ध लगाएर कालोपत्रे बनाइएपछि नक्कली सुकुम्बासीदेखि लाखको जमिन करोडको कारोबार गर्ने गिरोह झापाको दमकमा सक्रिय भएका छन् ।
दमक–७ स्थित रतुवामाई खोला किनारको पश्चिमी बाँध मानिसलाई हिंडडुल गर्नसमेत असहज थियो । पछिल्लो तीन वर्ष यता यहाँ चारै तिरका मानिसको ध्यान पुगेको छ ।
तटबन्ध बनेर छेउमा ५० फिट चौडाइको कालोपत्रे बनेकाले ५० हजार रुपैयाँ प्रति धुरमा किनबेच हुने जमिन १० लाख धुर पुगेकाले चलखेल गरेर स्थानीय तथा दलका प्रतिनिधिले कमाउको बाटो अपनाएको पीडितको गुनासो छ ।
पुरानो बाँधमा बसोबास गरेर बसेकाहरूलाई हटाए ज्यान मार्नेसम्मको धम्की दिएर जमिनधनीलाई दिएको रकम लिन बाध्य पारिदै आएको छ ।
कतिपय जमिनधनीहरू ज्यानको खतराका कारण धुरको एक लाख रुपैयाँ लिएर सहमति गर्न बाध्य छन् ।
काठमाडौ बस्दै आएका जयबहादुर भण्डारीले २०६९ सालमा एक कट्ठा १४ धुर जमिन खरिद गर्दा त्यहाँ काँसघारी थियो ।
खोलाको किनारमा बाँध बनाउने र सडक विस्तार गर्नमा ठुलो भूमिका खेलेका वडाध्यक्ष भीम पौडेल जमिनका मालिक जो सुकै भए पनि स्थानीयले भोगचलन गर्न पाउनुपर्ने पक्षमा छन् ।
भण्डारीको जमिनमा बसोबास गरेको इन्द्रप्रसाद पौडेलको परिवार पौडेलकै आश्वासनमा डेढ तले पक्का घर बनाएर बसेको छ ।
जिल्ला अदालत झापा र उच्च अदालत इजलास इलाम दुबै तर्फबाट मुद्दा जितेका भण्डारीलाई घर हटाएर जमिन जिम्मा लगाउन शनिबार अदालतका प्रतिनिधि आएका थिए ।
पौडेल परिवार वडाध्यक्षको आदेश बेगर जमिन नछाड्ने पक्षमा रहेकाले अदालतका कर्मचारीले स्थानीयलाई साक्षी राखेर सहीछाप गराए ।
दोस्रो कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा रहेका पौडेल जस्ता धेरै राजनीतिकर्मी रतुवा किनारको निजी जमिनमा बसोबास गर्नेहरूलाई सित्तैमा जमिन दिलाउने पक्षमा छन् । राजनीतिकर्मीबाहेक जमिनमा कमिशनका लागि मरिहत्ते गर्ने युवाहरूको पनि खोला किनारको जमिनमा नियमित निगरानी हुने गरेको स्थानीयको भनाइ छ ।
वडाध्यक्ष पौडेलले बगरमा बाँध र बाटो आफूले बनाएको दाबी गर्दै पहिलेदेखि बसेका मानिसलाई अदालतको आदेश भएपनि उठ्न नदिने पक्षमा छन् ।
‘मैले बनाएको बाँध र बाटोले बगर घडेरी बनेको हो, हिजोअस्ती लुकेर बसेकाहरू दाबी गर्न आउँदा जमिनको इतिहास बुझेर मात्रै आउन’ पौडेलले भनेको स्थानीयको भनाइ छ । अदालतको आदेश आउने बित्तिकै दुई परिवार भण्डारीको जमिनबाट निस्किएका छन् ।
वडाध्यक्ष पौडेलको बलमा रहेको एक परिवार न जमिन खरिद गर्ने पक्षमा छ न घर खाली गर्ने पक्षमा नै ।
आफू वैदेशिक रोजगारीमा गएर कमाएको रकम ब्यक्तिले खाएपछि त्यस बापत बाध्यतामा पाएको जमिनमा टाढाको मानिस भनेर जनप्रतिनिधिकै बलमा ढलान गरेको घर बनाइएको भण्डारीले बताए ।
उनका अनुसार वडाध्यक्ष पौडेलकै आग्रहमा जमिन रेखदेख गर्ने गरी इन्द्रप्रसादको परिवार कच्ची घर बनाएर बसेको थियो ।
कोरोनाकालमा कच्ची घर ढलानसहितको भवनमा परिणत भएपछि उनी वडाध्यक्ष पौडेललाई गुहार्न गएका थिए ।
पौडेलको मध्यस्थताको छलफल असफल भएपछि इलाका प्रहरी कार्यालय दमकका तत्कालीन नायव उपरीक्षक निशान थापाको रोहबरमा छलफल भएको थियो ।
प्रहरी र नगरपालिकामा भएका छलफलमा जमिन नछाड्ने अडान रहेपछि भण्डारी अदालत गए र न्यायको स्वास फेरे पनि अझ जमिन खाली हुने अवस्था छैन ।
अदालतका प्रतिनिधि घरमा आएर खाली गर्न आग्रह गर्दा पनि दलका केही प्रतिनिधि अदालतको आदेशको विपक्षमा उभिएका छन् ।
‘अरुको जमिनमा घर त्यसमा पनि नक्सा पास नगरी ढलान गरेर बनाएकाले जग्गाधनीलाई पीडा दिने काम भएको छ’ बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख तथा झापा निवासी विष्णुप्रसाद प्रसाईले भने ।
उनले भुलबस वा नियतबस जसरी भएपनि अरुको जमिनमा गराइएको बसोबास हटाउनुपर्ने बताए ।
बसोबासमा रहेको परिवार हट्न नमाने कानुन र समाजले तोकेको जमिनको मूल्य तिरेर बस्न सक्ने उनको तर्क छ ।
वडाध्यक्षकै आशमा कच्ची घर भत्काएर पक्की बनाएको बताउने पौडेल परिवारमा पुगेका प्रदेश सभा सदस्य होम थापाले जमिनधनी वा घरधनी दुबैलाई असर नपर्नेगरी मिलेर जानुपर्ने सुझाव दिए ।
अदालतको आदेश वा पीडितको पीडा भन्दा पनि उनी मतदाता रहेका स्थानीयको हितका पक्षमा देखिएका छन् ।
बजारको मूल्य अनुसार एक कट्ठाको दुई करोड रुपैयाँसम्म पर्ने सो जमिनलाई स्थानीयले ३० लाख रुपैयाँ प्रतिकट्ठाको रकम लिएर सहमति गर्न भण्डारीलाई दवाब दिंदै आएका छन् ।
जिल्ला अदालत झापा स्रोतका अनुसार जमिन खाली गराउने तीन पटकको सुचना टाँस सकिएकाले घर खाली गर्ने अन्तिम पत्र पौडेल परिवारलाई बुझाइएको छ ।
यसपछि घरभित्र रहेका सामान अदालतले नियन्त्रणमा लिन्छ । माग गर्न आए मुल्यको १० प्रतिशत राजश्व बुझाएर दिने कानुनी ब्यवस्था छ ।
अर्को साता पौडेल परिवारले जमिन खाली नगरेकोमा अदालतले जरिवानासमेत तोक्न सक्ने बताइएको छ ।
अदालतको पत्र आएपछि जमिन वा घर जे भए पनि कानुनको पालना गर्न आफूहरू खाली गराउने पक्षमा रहेको इलाका प्रहरी कार्यालय दमकका नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले बताए ।
View : 594
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved