पाटन , १२ असोज । अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छभने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।
गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ ।
महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए ।
“वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् ।
त्यहाँ पाँच जना थिए । उनीहरु सम्पर्क छैनन्”, उनले भने ।
प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए ।
बागमती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए ।
“हालसम्म मानवीय क्षति भएको छैन”, उनले भने ।
बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ ।
“बागमती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, बागमती ३ नं वडा कार्यालय जोखिममा छभने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।” रासस
View : 102
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved