एमाले महाधिवेशन प्रतिनिधि चयन
विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा कोशी प्रदेश सभाका चारजना सांसदहरू आफ्नै भूगोलमा पराजित भएका छन् । ८ जना प्रदेश सांसदले भने महाधिवेशन प्रतिनिधिमा जितेका छन् ।
पराजित हुनेहरूमा सुनसरीका दुई, झापामा एक र उदयपुरका एक सांसद छन् । सुनसरीको क्षेत्र नम्बर १ मा प्रतिनिधि चयनमा सहमति नहुँदा भएको निर्वाचनमा प्रदेश सांसद रमेशकुमार बस्नेत र विजयकुमार राई पराजित भएका हुन् ।
बस्नेत प्रदेश सभा १(१) र राई १(२) बाट निर्वाचित प्रदेश सांसद हुन् ।
त्यसैगरी झापाको क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि उठेका राधाकृष्ण खनाल पराजित भएका छन् । खनाल ४(१) बाट कोशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यता उदयपुरकी समानुपातिक सांसद गीतादेवी रेग्मी पनि पराजित भइन् । उदयपुर क्षेत्र नम्बर १ बाट महाधिवेशन महिलातर्फबाट प्रतिनिधिको उम्मेदवार बनेकी थिइन् । दुई प्रतिनिधिका लागि ६ जनाबीचको प्रतिष्पर्धा हुँदा रेग्मी पाँचौं भइन् ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सुनसरी–२ बाट उनी चौथो मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
त्यस्तै, संखुवासभाबाट बिदुर लिंथेप, मोरङ १ बाट उमाकान्त गौतम, २ बाट लीलाबल्लभ अधिकारी, मोरङ ३ बाट ज्ञानेन्द्र सुवेदी, झापा ३ बाट छविलाल चुडाल, झापा ५ बाट होम बहादुर थापा, तेह्रथुमबाट कमला दर्नाल र सुनसरीबाट निरादेवी खनाल निर्वाचित भएका छन् ।
खोटाङबाट कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत रहेका पाँचकर्ण राई सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् । राई खोटाङको प्रदेश सभा १(१) बाट कोशी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
झापाको क्षेत्र नम्बर २ मा प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जामन्त्री रहेका एकराज कार्की र प्रदेश सांसद तिलचन पाठक पनि महाधिवेशन प्रतिनिधिको मैदानमा छन् ।
मतगणनाका क्रममा उत्पन्न विवादका कारण उक्त क्षेत्रको मत परिणाम भने सार्वजनिक हुन सकेको छैन । झापा २ मा आज सोमबार विहान ८ बजेदेखि रोकिएको मतगणना सुरु हुने जनाइएको छ ।
View : 312
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved