विराटनगर । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् । विश्वक्रान्ति उपनामले पनि चिनिने लामालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई पक्राउ गरेसँगै उनी बबरमहल बम विस्फोटमा दोषी प्रमाणित भएको खुलेको छ ।
उनी २०६८ मा काठमाडौंको बबरमहलमा भएको बम विस्फोटमा संलग्न रहेको अभियोगमा पक्राउ परेर अदालतबाट दोषी ठहर भएका थिए ।
सो घटनामा तीन जनाको मृत्यु भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भीमबहादुर तामाङ, निमा तामाङ, बुद्धिबहादुर गोले, प्रेम तामाङ, सुरेश लामा र सागर लामालाई पक्राउ गरेको थियो ।
अदालतबाट उनलाई १५ वर्ष कैद सजाय सुनाइएको थियो । तर, ७ वर्ष कैद कटेको आधारमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएर उनलाई आठ वर्ष अगाडि नै कारागारमुक्त गरेकी थिइन् ।
युक्त जातीय मुक्ति मोर्चालको नाममा २०६८ फागुन १७ मा गराएको विस्फोटमा कृष्णबहादुर तामाङ, मानबहादुर तामाङ र वीरबहादुरको तामाङको मृत्यु भएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दिएको जानकारी अनुसार धनकुटा घर भई कपन बस्ने ५० वर्र्षीय तामाङ पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार लामाका तीन वटा उपनाम छन् । कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट पनि उनी चिनिन्छन् ।
२०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो । सुरूमा कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि उनलाई काठमाडौं पठाइएको थियो ।
उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा भने फरार नै देखिएका थिए ।
त्यसैले उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जनाएको छ ।
View : 210
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved