Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

छारेरोग सम्बन्धी निबन्ध प्रतियोगितामा श्रेय बने प्रथम

उद्‌घोष संवाददाता
१३ चैत २०८०, मङ्गलवार

Advertisement

विराटनगर । छारेरोग विरुद्धको सचेतनाका लागि विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले आयोजना गरेको निबन्ध प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयका श्रेय शर्मा प्रथम भएका छन् । 

अंग्रेजी माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत शर्मा प्रथम भएका हुन् ।

एनसेलसँगको सहकार्यमा आयोजित ‘वर्ल्ड पर्पल डे’ को अवसरमा पारेर न्युरोले छारेरोग सम्बन्धी सचेतना जगाउने अभियानस्वरूप निबन्ध प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा दिल्ली पब्लिक स्कुलका कक्षा ९ की श्रुति यादव द्वितीय र मेरिल्याण्ड कलेजका कक्षा ११ की सेमान्तीका पराजुली तृतीय भएका थिए । बिजेताहरूलाई न्युरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्र कुमार बिष्ट र एनसेलका प्रतिनिधि अमर भट्टाचार्यले पुरस्कार प्रदान गरेका हुन् ।

नेपालमा प्रत्येक एक सय जना मध्ये एक जनामा छारेरोग लाग्ने गरेको जनाइएको छ । न्युरोले हालसम्म छारेरोगका २५ हजारभन्दा बढी बिरामीको सफल उपचार गरेको दाबी गरेको छ ।

अहिलेपनि करिव तीन हजार बिरामीको नियमित उपचार गरिरहेको जनाएको छ । छारेरोगको उपचारका लागि न्युरो अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको डा. बिष्टले बताए ।

छारेरोग विरुद्धको सचेतनाका लागि मंगलबार बिहान विराटनगरमा प्रभातफेरी समेत निकालेको थियो । न्युरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगर क्षेत्रको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा पुगेर सम्पन्न भएको हो ।

प्रभातफेरिमा ‘समयमा नै उपचार गरौँ, छारेरोगबाट मुक्त हौं’, ‘अन्धविश्वासलाई हटाऊ, सबैमा जनचेतना जगाऔँ’, ‘छारे रोग रोग होइन्, यो नशा रोगको लक्षण हो’, ‘छारे रोगबारे घर— घर टोल— टोलमा कुरा गरौँ’ जस्ता नारासहितको प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।

View : 731

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved