विराटनगरमा स्वास्थ्य सेवाको नयाँ आयाम
विराटनगर । कोशी प्रदेशको स्वास्थ्य सेवालाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउने उद्देश्यका साथ विराटनगरका दुई प्रतिष्ठित स्वास्थ्य संस्था– न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल र नोबेल मेडिकल कलेज शिक्षण अस्पताल बीच महत्वपूर्ण सहकार्य भएको छ ।
न्यूरो अस्पतालमा आइतबार संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा दुवै अस्पतालले आधिकारिक रूपमा सहकार्यको घोषणा गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता विशेषगरी क्यान्सर उपचारमा केन्द्रित रहेको छ । सम्झौता अनुसार
न्यूरो अस्पतालमा उपचारका लागि आएका बिरामीलाई क्यान्सर सम्बन्धी थप परामर्श वा उपचार आवश्यक परेमा नोबेल मेडिकल कलेजसँग समन्वय गरिनेछ ।
यसरी रेफर भएर जाने बिरामीहरूको उपचार प्रक्रियामा नोबेलले उच्च प्राथमिकता दिनेछ । उपचार खर्चमा बिरामीहरूलाई विशेष छुटको व्यवस्था समेत गरिने छ ।
नोबेल मेडिकल कलेजका अध्यक्ष डा. सुनिल शर्माले पूर्वमा स्वास्थ्य सेवामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘निजी स्वास्थ्य संस्थाहरू सञ्चालन गर्दा प्रतिस्पर्धा नै हुन्छ भन्ने छैन, सहकार्य गरेर पनि अघि बढ्न सकिन्छ र उत्कृष्ट नतिजा दिन सकिन्छ । यो सहकार्यले पूर्वको स्वास्थ्य सेवालाई मजबुत बनाउनेछ ।’
आफ्नो रजत जयन्ती मनाइरहेको न्यूरो अस्पतालले सेवालाई थप गुणस्तरीय र सर्वसुलभ बनाउन यो कदम चालेको जनाएको छ ।
अस्पतालका अप्रेसन निर्देशक राजेश भट्टराईले भने, ‘स्वास्थ्य उपचार एउटा जटिल प्रक्रिया हो । यहाँ प्रतिस्पर्धाभन्दा सहकार्यले उत्कृष्ट नतिजा दिन सकिन्छ भन्ने विश्वासका साथ हामीले यो सम्झौता गरेका हौं ।’
सम्झौताले बिरामी रेफरलमा मात्र नभई स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा पनि जोड दिएको छ । दुवै अस्पतालले चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य स्वास्थ्यकर्मीहरूको सीप विकासका लागि संयुक्त रूपमा तालिम, कार्यशाला र नियमित मेडिकल शिक्षा लगायतका कार्यक्रमहरू आयोजना गर्ने सहमति गरेका छन् ।
करिब दुई दशकदेखि सञ्चालित ७५० शय्याको नोबेल मेडिकल कलेजले हालै क्यान्सर उपचारमा ठूलो लगानी गर्दै अत्याधुनिक प्रविधि भित्र्याएको छ । नोबेलमा १०० भन्दा बढी आईसीयू तथा सीसीयू शय्याहरू उपलब्ध छन् ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालका तर्फबाट अप्रेसनल निर्देशक राजेश भट्टराई र नोबेल अस्पतालका तर्फबाट मेडिकल निर्देशक डा. अशोक कोइरालाले सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहमा न्यूरो अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार विष्ट, निर्देशक अनिषा विष्ट तथा नोबेल अस्पतालका प्रमुख सुनिल शर्माको उपस्थिति रहेको थियो ।
दुवै अस्पताल प्रशासनले यो सहकार्यले कोशी तथा मधेश प्रदेशका नागरिकलाई क्यान्सर उपचारमा सहजता र सहुलियत मिल्ने र समग्र स्वास्थ्य सेवाको स्तर उकास्न टेवा पुग्ने विश्वास लिएका छन् ।
View : 128
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved