विराटनगर । विराटनगरका पुराना व्यवसायी एवं समाजसेवी केदारमल तोदीको बुधबार बिहान निधन भएको छ । ९३ वर्षीय तोदीको विराटनगर–५ स्थित उनकै निवासमा निधन भएको हो ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्माका अनुसार स्वर्गीय तोदी वि.सं. २०११–०१२ मा मोरङ व्यापार संघको सचिव भएका थिए । तोलाराम दुगड अध्यक्ष भएको समयमा उनी सचिव भएका हुन् । त्यसबेला सचिवलाई मन्त्री भन्ने गरिन्थ्यो ।
वि.सं २०१५–०१६ मा संघको कार्यसमिति सदस्यमा रहेका तोदी मदनलाल अग्रवाल अध्यक्ष हुँदा वि.सं २०१७–०१८ र २०१९–०२० मा पनि सचिव भएर व्यापार संघको कार्यसमितिमा रहे ।
त्यो बेला अंग्रेजीमा राम्रो ज्ञान भएको र अंग्रेजीमा पत्राचार गर्ने मानिसको अभाव भएको कारण उनलाई मोरङ व्यापार संघको कार्यसमितिमा ल्याइएको थियो । उनी विराटनगरका पढेलेखेका बौद्धिक व्यक्तित्वहरु तेरोन्द्रमानसिंह प्रधान, नारायणप्रसाद आर्याल(पूर्वराजदूत) गोपालप्रसाद शर्मा (पूर्वराजदूत), मंगतुराम अग्रवाल, चीरञ्जीलाल अग्रवाल समकालीन हुन् । उनका समकालीनहरुमध्ये नारायणप्रसाद अर्याल, गोपालप्रसाद शर्मा, चिरञ्जीलाल अग्रवाल, मंगतुराम अग्रवालबाहेक अरुको निधन भइसकेको छ ।
कर्मयोगी तोदीले आफूले आर्जन गरेको सम्पत्ति दुईवटा छोराहरुलाई दिएर बाँकी सम्पत्ति सामाजिक काममा अर्पण गरेका छन् । विराटनगर–५ को तोदी भवन उनैले बनाएको हो । केही वर्षदेखि उनी हिंड्डुल गर्न नसक्ने अवस्थामा पुगेका थिए । विराटनगरबासीका तर्फबाट उनको नागरिक अभिनन्दन पनि गरिएको थियो ।
View : 536
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved