शिक्षादीपमा आईटी वर्कसप
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा आईटी र व्यवस्थापन संकायमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले १३ दिने आईटी कार्यशालापछि विभिन्न प्रकारका रोबोटदेखि बिज्नेश आइडियासम्म तयार पारेर प्रदर्शनी गरेका छन् ।
‘इनोभन्चर’ नाम दिइएको कार्यशालाको शनिबार आयोजित समापन कार्यक्रममा उनीहरूले तयार पारेका रोबोटले काम गर्ने सोच र तरिकाका साथै बिज्नेश आइडिया प्रस्तुत गरेका हुन् ।
प्रदर्शनीका क्रममा विद्यार्थीहरूले अनुहारको भावबाट व्यक्तिको संवेग पत्ता लगाउने, कलेज बंक गर्ने विद्यार्थीको विवरण तयार पार्ने, स्वर पहिचान गर्ने, अगाडिको अवरोधलाई पहिचान गर्ने गाडी, आगन्तुक व्यक्तिहरूलाई स्वागत गर्ने रोबोट प्रस्तुत गरे ।
व्यवस्थापन संकायका विद्यार्थी समूहले भने पानीको व्यवस्थापन, सरसफाई, तरकारीको बजार सहजीकरण, अनलाइन परिवहनको वुकिङ गर्ने जस्ता एप्लिकेशन तयार गरी प्रस्तुत गरेका थिए ।
कलेजले काठमाडौंस्थित कोड हिमालय, टेक्स्पायर कलेज र पीसीपीएस कलेजसँगको सहकार्यमा १३ दिने आईटी तथा व्यवस्थापनसम्बन्धी कार्यशाला आयोजनामा आईटीका ६२० र व्यवस्थापन संकायका १३४ विद्यार्थीहरूले समूह बनाएर आफ्नो नवप्रवर्तनात्मक क्षमता प्रस्तुत गरेका थिए ।
शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानु खड्काले विज्ञान र व्यवस्थापन संकाय जस्तै सूचना प्रविधिको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूको पनि उत्तिनै भविष्य सुरक्षित रहेको बताए । उनले अहिलेको समयमा डाक्टर र इन्जिनियर अध्ययन गर्ने विद्यार्थीले आईटी जान्नुपर्ने अवस्था रहेको बताए ।
त्यही भएर कलेजले आईटी अध्ययनरत विद्यार्थीहरूका लागि उत्प्रेरित गर्न हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको जानकारी दिए । कलेजले आइटीको क्षेत्रमा ठूलो सफलता हासिल गर्दै आएको बताए ।
कार्यशालमा सहभागी विद्यार्थीहरूलाई कोड हिमायलका सञ्चालक आशिष प्रसाईं, कृशकुमार श्रेष्ठ तथा पीसीपीएस कलेजकी कृपा श्रेष्ठ लगायतका प्रशिक्षकहरूले सहजीकरण गरेका थिए ।
प्रसाईंले काठमाडौंमा अहिलेपनि आईटी क्षेत्रमा अध्ययनरत तीन सय बढी युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिरहेको बताए । उनले शिक्षादीपसँगको सहकार्यका क्रममा विद्यार्थीहरूले उत्कृष्ट क्षमता प्रदर्शन गरेको जानकारी दिए ।
कार्यशालामा रोबोट कार्यक्षमता र व्यवसायिक सफलता हासिल गर्नसक्ने नवीनतम् सोच प्रस्तुत गर्ने विद्यार्थी समूहहरूलाई पुरस्कृत समेत गरिएको कलेजका निर्देशक रामचन्द्र अधिकारीले बताए । उनले कलेजले
नवप्रवर्तनात्मक कार्यक्रमका रुपमा हरेक वर्ष यस्तो कार्यशाला गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा शिक्षादीप कलेजका प्रमुख निर्देशक शैलेन्द्र शिवाकोटीसहित व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, निर्देशकहरू रमेशकुमार मण्डल, अनिलकुमार दास, राजेन्द्र यादव, डा. ललितनारायण मन्डर, भूपेन्द्र दाहाल, मणि भट्टराई, शेषनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो ।
View : 143
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved