Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताको पहल

उद्घोष सम्वाददाता
१५ फागुन २०८०, मङ्गलवार

विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघलाई औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धताका लागि आग्रह गरेको छ ।  नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत गर्दै संगठनले त्यस्तो आग्रह गरेको हो ।

स्वागत तथा भेटघाट कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखेका थिए ।

उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउँदै समस्या समाधानका लागि संस्थागत ऐक्यबद्धता लागि आग्रह गरे । सरकार र नीजि क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकायवीच सकारात्मक सम्वन्ध विकास गर्न नीजि क्षेत्रका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने अध्यक्ष सुरानाको भनाइ थियो ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले वर्तमान अवस्थामा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसँग सम्वन्धित व्यावसायीक संस्थाहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले आर्थिक समृद्धिका लागि नीजि क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि नीजि क्षेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामुहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्ने जोड दिए । 

विराट ब्यापार संघका अध्यक्ष अंशु बञ्जाराले ब्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागत रुपमा सदैव तत्पर रहेको बताए । उनले समस्यै समस्याको भूमरीमा  जेलिएका व्यावसायिक क्षेत्र वीचको आपसी सम्वन्ध थप प्रगाढ बनाउनु पर्नेमा जोड दिए । 

उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले निजि क्षेत्रको सवलीकरणका लागि सामुहिक रुपमा पहल गरी व्यावसायिक विकासको पक्षका सकारात्मक वातावरण बनाउनुपर्ने बताए । 

कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र विराट व्यापार संघका  पदाधिकारी, कार्यसमिति सदस्यहरुका साथै महिला उद्यमीहरुको सहभागिता थियो । 

View : 166

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved