विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीयतालाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताएका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित लीलाभक्तराम आधारभूत विद्यालयको वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई संविधानअनुरुप अधिकार नदिँदा संघीयता कार्यान्वयनमा समस्या भएको बताए । संघीयता चाहिन्छ भन्ने तर अधिकार नदिने हो भने मुलुकले गति लिन नसक्ने उनको भनाइ थियो ।
नेता कोइरालाले आफू संघीयताको पक्षमा रहेको भन्दै सबै जाति समुदायको अधिकारका लागि अधिकार सम्पन्न संघीयता आवश्यक रहेको बताए । अहिले मुलुकको व्यवस्थाप्रति नभई राजनीतिक दलको नेतृत्वप्रति जनतामा आक्रोस छाएकाले त्यो कुरालाई दलहरुले बेलैमा बुझ्नु जरुरी रहेको उनले उल्लेख गरे ।
विगत ६ महिनामा मुलुकको विकास खर्च १० देखि ११ प्रतिशत मात्र रहेको र आगामी जेठ असार दुई महिनामा एकैचोटि काम गरेको देखाएर ८० प्रतिशत विकास खर्च पुर्याउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलाउने गरेको उनले बताए । भ्रष्टाचारका कारण मुलुक खोक्रो अवस्थामा पुगिसकेकाले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनले उल्लेख गरे ।
नेता कोइरालाले उद्योग सञ्चालन गर्न लिएको डेलिकेटेड लाइनको बिल वक्यौदा तिर्न नसक्दा विद्युतको लाइन काटिदा चलिरहेका उद्योग बन्द हुने अवस्थामा पुगेको बताउँदै यो विषयलाई प्राधिकरण र उद्योगी दुवै पक्षले छलफलबाटै चाँडै समाधान गर्नुपर्ने सुझाव दिए ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले ८४ प्रतिशत दलित तथा विपन्न समुदायका विद्यार्थी अध्यनरत सो विद्यालयलाई आफू र आफ्नो पालिकाले विभिन्न प्रकारको सहयोग गरेका कारण विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको बताए ।
लायन्स क्लवका पूर्व गभर्नर भीम घिमिरे र राजन खत्रीले विद्यालयको भौतिक पूर्वाधर निर्माणका लागि लायन्स क्लवले सक्दो सहयोग गरेको बताए ।
View : 139
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved