विराटनगर, ३ मंसिर : कोशी प्रदेश सभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सनातन हिन्दु राज्य आवश्यक रहेको भन्दै १९औं पटक दण्डप्रणाम गरेका छन् । छठको उपासना गर्दै पराजुलीले दण्डप्रणाम् गरेका हुन् ।
पराजुलीले २०४८ सालदेखि निरन्तर २९ बर्ष छठको ब्रत उपासना गर्दै आएको बताएका छन् । यसपटक पनि आइतबार विहान साढे १० बजेदेखि विराटनगर–३ पोखरियास्थित शिवपाञ्चायन मन्दिरबाट सिंघीया नदीसम्म पराजुलीले दण्डप्रणाम् सुरु गरेका थिए ।
करीव दुई किलोमिटरको यात्रा उनले भुँईमा घस्रिएर पार गरेका छन् । त्यसका लागि झण्डै चार घण्टा समय लागेको उनका स्वकीय सचिव लोकेन्द्र तिम्सिनाले बताए ।
पराजुलीले यसपटकको दण्डप्रणाम् वैदिक सनातन हिन्दु राज्य, लोक कल्याण र जगत कल्याणका लागि गरेको बताए ।
‘मैले यो ब्रत लिंदा कहिलेपनि आफ्नो जीवनको लागि मागेको छैन’ पराजुलीले भने, ‘यसपटक वैदिक सनातन धर्मको रक्षा र हिन्दु राज्य, लोक कल्याण र जगत कल्याणका लागि दण्डप्रणाम गरेको छु ।’
उनले आफुले जीवनको उत्तरार्द्धमा निजी सम्पति समेत समाजलाई दिन्छु भनेर घोषणा गरिसकेको जानकारी दिए ।
उनले सनातन हिन्दु धर्मविनाको राज्यबिना देशमा सुखशान्ति नहुने दाबी गरे । त्यसैगरी हिन्दु राज्यले नै समाजमा प्रेम र एकता कायम भई समाजलाई सवैसँग जोड्ने बताए । विगतदेखि नै दण्डप्रणाम गर्दै आएका पराजुलीले कुनैपनि राजनीतिक लाभ लिन वा भोटका लागि भने नगरेको स्पष्ट पारे ।
पराजुलीलाई विगत बर्षहरु झैं भजित प्रमिश पराजुलीले दण्डप्रणाममा सहयोग गरेका थिए । उनले पहिल्यैदेखि छठी माताको भक्त रहेकोले आफुलाई ब्रतप्रति विश्वास रहेको बताए ।
View : 325
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved