नेपाल–बंगलादेश स्वास्थ्य सहकार्य
विराटनगर । नेपाल र बंगलादेशबीचको जनस्तरको सम्बन्ध र स्वास्थ्य सहकार्यले नयाँ उचाइ लिँदै, विराटनगर आँखा अस्पतालले बंगलादेशको ठाकुरगाँवमा पाँचदिने निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर सफलतापूर्वक सुरु गरेको छ।
सीमा र भूगोलभन्दा माथि उठेर मानवताको सेवा गर्ने उद्देश्यसहित सञ्चालित यस अभियानले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको छ।
सन् २०२३ देखि नियमित रूपमा सञ्चालन हुँदै आएको यस मानवीय कार्यक्रमबाट हालसम्म हजारौँ बंगलादेशी नागरिकले निःशुल्क नेत्र ज्योति प्राप्त गरिसकेका छन्।
चालू वर्षको शिविरको पहिलो दुई दिनमै अभूतपूर्व उत्साह देखिएको छ, जस अन्तर्गत पहिलो दुई दिनमै १ हजार ३६५ जना बिरामीको सफल आँखा परीक्षण तथा १३६ जना मोतियाविन्दु लगायतका बिरामीहरूको सफल शल्यक्रिया सम्पन्न भइसकेको छ।
शिविरको भव्य उद्घाटन समारोहमा बंगलादेशका ग्रामीण तथा स्थानीय विकास मन्त्री मिर्जा फखरुल इस्लाम आलमगीर प्रमुख अतिथि थिए भने विशेष अतिथिका रूपमा बंगलादेशका लागि नेपाली राजदूत प्रतिक कार्की उपस्थित थिए।
उद्घाटन मन्तव्य राख्दै दुवै देशका उच्च अधिकारीहरूले नेपाल र बंगलादेशबीचको यो स्वास्थ्य सहकार्य दुई देशको मैत्रीपूर्ण सम्बन्धको एक उदाहरणीय कडी भएको बताएका छन्।
"स्वास्थ्य सेवाले सीमा, भूगोल र राष्ट्रियताभन्दा माथि उठेर मानवताको सेवा गर्छ। यस शिविरले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई अझ जनप्रिय र प्रगाढ बनाउनेछ।" — कुमार पृथु, प्रबन्धक, विराटनगर आँखा अस्पताल
नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्रा. डा. चेत्तराज पन्तले दुई देशबीचको स्वास्थ्य पर्यटन र उपचार सहकार्यलाई अझै सहज बनाउन महत्त्वपूर्ण सुझावहरू अगाडि सारेका छन् ।
उनले बिरामी र उनीहरूका कुरुवाका लागि भिसा प्रक्रिया सरलीकरण गर्नुपर्ने तथा विराटनगर–साहिदपुर सिधा हवाई उडान सञ्चालन गर्न सके दुवै देशका नागरिकले गुणस्तरीय नेत्र उपचारमा थप द्रुत र सहज पहुँच प्राप्त गर्ने धारणा व्यक्त गरे।
विराटनगर आँखा अस्पतालले बंगलादेशमा सञ्चालन गरेको यो सेवामुखी अभियानले अन्तर्राष्ट्रिय स्तरमा नेपालकाे आँखा उपचार सेवाको प्रतिष्ठा उच्च बनाउनुका साथै दुई देशबीचको सुमधुर सम्बन्धलाई थप मजबुत बनाएको छ ।
View : 157
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved