Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

हराएका चार बालिका

अंशु मृत फेला, आयुषा र रुका भेटिए सकुशल, भावनाको अवस्था अज्ञात

उद्‌घोष संवाददाता
९ कार्तिक २०८२, आइतवार

विराटनगर । केही दिनदेखि मोरङका छुट्टाछुट्टै स्थानबाट हराइरहेका चारजना बालिकामध्ये लेटाङ नगरपालिका–२ फँडानीस्थित स्कुल चोककी १३ वर्षीया अंशु गौतम शुक्रबार साँझ मृत फेला परिन् । 

असोज २१ गतेदेखि हराइरहेकी अंशुको घाँस काट्न गएका व्यक्तिहरूले टाउको र शरीर छुट्टिएको अवस्थामा शव भेटेपछि खोजी गरिरहेको प्रहरीले घटनास्थलमा पुगेर उनको हत्या भएको हुनसक्ने ठहर गर्दै अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले अंशुको शव अधिकांश सडिसकेको अवस्थामा बेलबारी र लेटाङको सीमावर्ती साझेदारी वनभित्र फेला परेको जनाएको छ । घटनास्थलमा उनले लगाएको चप्पल र घडी अलग अलग स्थानमा भेटिएको जनाइएको छ ।

आफन्तका अनुसार त्यस दिन साढे ४ बजेतिर अंशु अचानक घरबाट बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएपछि स्थानीयले समेत यत्रतत्र खोजी जारी राखेका थिए । 

घटनास्थलमै पुगेका मोरङका प्रहरी उपरीक्षक कवित कटवालका अनुसार बालिकाको शरीरमा लगाएका कपडा फुकालिएको देखिएकाले घटनालाई विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको जनाइएको छ । 

‘शव विभत्स थियो, टाउको र शरीर अलग देखिन्थ्यो, धारिलो हतियार पनि प्रयोग भएको हुनसक्ने देखिन्छ, कपडा फुकालिएको अवस्थाले घटना झनै शंकास्पद छ’ उनले भने, ‘हामीले अनेक दृष्टिकोणबाट घटनाको अनुसन्धान गरिरहेका छौं, जंगलभित्रको घटना भएकाले जंगली जनावरले आक्रमण गरेको हो कि होइन भन्ने पनि अनुसन्धान जारी छ, चाँडै वास्तविकता पत्ता लाग्छ भन्ने हामी अपेक्षामा छौं ।’

सामान्य परिवारकी अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत थिइन् । 

लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले उनी बेपत्ता भएयता खोजी भइरहेको अवस्थामा जंगलभित्र शव भेटिनुले घटना शंकास्पद रहेको बताए । बालिकाको मृत्युको खबरले सिंगो गाउँ स्तब्ध बनेको बताए ।

स्थानीयले भने बालिकाको बलात्कारपछि हत्या भएको अनुमान लगाउँदै प्रहरीलाई अनुसन्धान तीब्र पार्न दवाव दिएका छन् । उनीहरूले दोषीलाई तत्काल पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन् । 

अंशुको शव निकै सडिसकेका कारण प्रहरीले पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ । पोष्टमार्टमपछि प्राप्त हुने रिपोर्ट अनुसार थप अनुसन्धान अघि बढ्ने जनाएको छ । 

मोरङको कानेपोखरी गाउँपालिका–५ दुम्रीघाटस्थित मामाघरबाट बेपत्ता भएकी उर्लाबारी–३ मंगलबारेकी १४ वर्षीया आयुषा धिमाल भने शनिबार विराटनगरमा भेटिएकी छन् । 

आयुषा शुक्रबार दिउँसो करिब २ बजेतिर मामाघरबाट हिंडेकी थिइन् । साँझसम्म उनी नफर्किएपछि परिवार र प्रहरी दुवै पक्षले खोजतलास सुरु गरेका थिए । 

प्रहरीले हुलियाका आधारमा आयुषालाई शनिबार विहान करीव १० बजेतिर विराटनगरको बिजुली अफिस पश्चिम क्षेत्रबाट स्थानीयले आश्रय दिएर राखिदिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।

‘घरमा सामान्य झगडा गरेपछि घर छाडेर हिंडेकी रहिछन्, हामीले सोधपुछ गर्दा अन्य कुरा केही खुलेन’ प्रनाउ चुडालले भनिन्– ‘उनले बोकेको मोबाइलले लोकेशन पत्ता लगाएर खोजी गर्दा एकजना हजुरआमाले आश्रय दिएर राखिदिनु भएको रहेछ, अहिले आमा बुवालाई जिम्मा लगाइसकेका छौं ।’

यता, मोरङको केराबारीबाट हराएकी १४ वर्षीया रूका मगर पनि इटहरीमा भेटिएकी छन् । उनी गत बुधबार केराबारी–५ रामपुरबाट हराएकी थिइन् । 

उनलाई इलाका प्रहरी कार्यालय इटहरीले फेला पारेर माया घरमा आश्रयका लागि बुझाएको थियो । माया घरले पनि इलाका प्रहरी कार्यालय केराबारीको रोहबरमा परिवारलाई जिम्मा लगाएको जनाएको छ ।

भैलो खेल्न हिंडेकी भावना अझै बेपत्ता

तिहारमा भैलो खेल्न भनेर घरबाट हिंडेकी १५ वर्षीया बालिका भावना पाण्डे अझै बेपत्ता छिन् । 

सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित नेवार टोलकी पाण्डे गत सोमबार साँझ करिब ६ बजेतिर भैलो खेल्न भन्दै घरबाट निस्किएकी थिइन् । तर राति अबेरसम्म पनि नफर्किएपछि खोजी तीब्र पारिएकोमा शनिबारसम्म पनि उनको अवस्था अज्ञात रहेको पारिवारिक स्रोतले जनाएको छ ।

कुर्ता र पाइन्टमा सेतो जुत्ता लगाएर घरबाट निस्किएकी उनको अवस्था अज्ञात रहेको जनाइएको छ । 

घरबाट निस्किएपछि दुई घरमा भैली खेलेर घर जान भन्दै हिंडेकी भावनाको अवस्था अझैसम्म पनि अज्ञात रहेको स्थानीय राजेन्द्र पोखरेलले जानकारी दिए । 

उनको हुलियासहित प्रहरीमा खोजतलासका लागि जानकारी गराइएको आफन्तले बताए । बालिका पाण्डे स्थानीय सूर्यकिरण एकेडेमीको कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।

View : 463

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved