विराटनगर । दुई श्रीमति र छोराहरुको अंश लाग्ने ३२ घुर जग्गाको स्वामित्व हत्याउन परिवारका सदस्यहरुबीचको चर्किएको विवादमा जनप्रतिनिधिहरु नै संलग्न देखिएका छन् । मोरङको रंगेली नगरपालिका–४ का वडाध्यक्ष अभदेश मण्डलसहितको संलग्नतामा उक्त जग्गाको अंसियार प्रमाणित गर्दा गलत सिफारिस गरेको पाइएको हो ।
स्थानीय ७९ वर्षीय रामप्रसाद साहको मृत्युपछि उनका दुई श्रीमतिहरु मध्ये कान्छी श्रीमति र छोराले बाबुको जग्गा आफ्नो नाममा ल्याउनका लागि वडा कार्यालयबाट गलत सिफारिस लिएका हुन् । उक्त सिफारिस दिने बेलामा वडाध्यक्ष मण्डलले जेठी श्रीमति पनि रहेको थाहा पाउँदा पाउँदै कान्छी श्रीमति कौशिलादेवी साहतर्फका छोरा राजकिशोर साहलाई एकल अंसियारको सिफारिस दिएको खुलेको छ ।
दुई परिवारबीच २०६५ भदौ २६ मा अंश भरपाई भइसकेको र बाबुको नाममा रहेको जग्गामा भने सगोलको हुने दाबी जेठी श्रीमति कलावती देवी साह र उनका छोरा वीरेन्द्रकुमार साहले अंश दाबी गरेका हुन् ।
वडाध्यक्ष मण्डलले भने बजरंगबली चिउरा मिल समेत संचालन गरिएको उक्त जग्जामा जेठी श्रीमतीको अंश दाबी नलाग्ने ठहर गर्दै कान्छी श्रीमतिका छोरामात्रै अंशियार कायम गर्दै सिफारिस दिएका थिए ।
सोही सिफारिसका आधारमा मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौला, स्थानीय गणेश निरौलासहित १३ जनाविरुद्ध जेठी श्रीमतितर्फका छोरा वीरेन्द्रले किर्ते जालसाजी मुद्दा दर्ता गरेका छन् ।
तर प्रहरीले उनीहरु मध्ये कान्छी आमातिरका छोरा राजकिशोर साहलाई मात्रै पक्राउ गरेर अरुलाई उन्मुक्ति दिन खोजेको भन्दै दाजु विरेन्द्रले भने पत्रकार सम्मेलनमार्फत प्रहरीप्रति नै रोष प्रकट गरेका छन् ।
बाबु रामप्रसादको २०७९ बैशाख ८ मा मृत्यु भएपछि कान्छी श्रीमतितिरका छोरा राजकिशोरले करीव तीन करोड मूल्य पर्ने उक्त जग्गा आफ्नो नाममा ल्याउन वडा कार्यालयबाट सिफारिस लिएर जग्गा पास गराउन सफल भएको खुलेको छ ।
तर वीरेन्द्रले भने सवैको अंश लाग्ने जग्गामा कान्छी आमाको छोरालाईमात्रै अंसियार बनाउने प्रपञ्च गरेको र त्यसमा संलग्नहरुविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी हुँदा समेत पक्राउ नगरेको गुनासो गरेका छन् ।
अदालतले जेठ ९ मै पक्राउ पूर्जी जारी गरेपनि प्रहरीले एकजनालाई मात्रै पक्राउ गरेको र गलत सिफारिस दिने वडाध्यक्ष मण्डल निर्वाध रुपमा हिंडिरहेको उनले दाबी गरे ।
‘आज जेठ १६ गते भइसक्यो, पक्राउ पूर्जी जारी भएको ७ दिन बितिसक्दा पनि बाँकी १२ जना खुलेआम सार्वजानिक ठाउँमा हिंडडुल गरेका छन्’ विरेन्द्रले भने,‘यो प्रकरणमा आर्थिक चलखेल भएको पनि आशंका रहेको छ, किनभने ५ महिना १२ दिन अगाडी सर्जमिन प्रमाणित भएको कागजलाई रोकेर मात्रै सिफारिस दिने काम वडाध्यक्ष मण्डलले गरेका छन्, त्यत्रो समयमा उनले हामी अंशियारलाई किन एकपटक पनि सोधीखोजी गरेनन् भन्ने विषयले उनीहरुको संलग्नता रहेको प्रमाणित हुन्छ ।’
View : 174
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved