टोकियो । दक्षिणपश्चिम जापानको क्यूसुमा र सिकोकुका केही भागमा बिहीबार ७.१ म्याग्निच्युडको भूकम्प गएपछि त्यहाँ सुनामीको चेतावनी दिइएको छ ।
एक मिटरसम्मको सुनामी आउन सक्ने जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ। भुकम्पले हालसम्म ठूलो क्षतिको विवरण प्राप्त नभएको द जापान टाइम्सले उल्लेख गरेको छ ।
भूकम्प मियाजाकी प्रीफेक्चरको नजिक त्यहाँको स्थानीय समय अनुसार साँझ ४:४३ बजे गएको जेएमएले जनाएको छ ।
भूकम्पपछि आणविक उर्जा केन्द्रहरूमा पनि असामान्यताको कुनै रिपोर्ट नआएको जनाइएको छ । सरकारले क्षति र हताहतीको गहिरो निगरानी सुरु गरिसकेको मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले पत्रकारहरूलाई जनाएका छन् ।
भुकम्पपछिको सुनामीको छालले मियाजाकी, कोची, ओइटा र कागोशिमा प्रान्तहरूमा पुग्न सक्ने अनुमान गरिएको छ ।
यो भूकम्पको केन्द्रविन्दु मियाजाकी प्रिफेक्चरको तटमा रहेको ह्युगानाडा समुन्द्रको ३० किलोमिटर गहिराइमा रहेको दाबी गरिएको छ । (एजेन्सीको सहयोगमा)
View : 184
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved