विराटनगर । कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८२ नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार विराटनगरमा आयोजित पुरस्कार वितरण समारोहमा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले २५ हजार रुपैयाँसहित पुरस्कार र सम्मानपत्र पत्रकार कोइरालालाई प्रदान गरेका छन् ।
कार्यक्रममा बोल्दै सभामुख विष्टले कोशी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले पत्रकारहरूकै हित गर्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले विधायन समितिबाट पारित भएर प्रदेशसभामा पेश भएको र पत्रकारहरूले विधेयक प्रेसमैत्री नभएको भन्दै आन्दोलित भएको अवस्था देखिनु उचित नभएको बताए ।
उनले आफूले पनि विधेयकलाई प्रेसमैत्री बनाउनका लागि पहल गर्ने जानकारी दिंदै आफ्नो ध्यानाकर्षण भएको बताए । विधेयकबारे मुख्यमन्त्री र सम्बन्धित मन्त्रीसँग पनि छलफल गर्ने आश्वासन दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले विधेयकका विषयमा महासंघले संस्थागत धारणा राख्दै आएको जानकारी दिंदै कतिपय विषयमा सरकारले अझ जिम्मेवारपूर्वक पत्रकारहरूको कुरा सुनेर अघि बढ्नुपर्ने बताए ।
महासंघ मोरङका अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा पत्रकार कोइरालासहित महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी लगायतले शुभकामना दिएका थिए ।
महासंघले प्रदान गर्ने उक्त पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्षहरू हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले प्राप्त गरिसकेका छन् ।
View : 385
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved