Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

इटहरी सेन्ट्रल प्लाजा आगलागी घटना, उदांगियो सरकारी कमजोरी

दुई तल्लाको आगो निभाउनै लाग्यो ६ घन्टाभन्दा बढी समय, पाँच घन्टापछि मात्रै ल्याइएको थियो क्रेन ।
उद्‌घोष सम्वाददाता
१४ चैत २०८१, बिहिवार

इटहरी । इटहरी चोकैमा रहेको सेन्ट्रल प्लाजाको छैटौं तलामा रहेको होटल बरण्डाका कर्मचारीहरू बुधबार बिहान साढे आठ बजे नै अफिस पुगेका थिए । प्लाजाको पाँचौ तलामा रहेको कार्यालय कक्षको ढोका उघार्ने बित्तिकै उनीहरूले कोठा धुँवाले भरिएको देखे । 

धुँवाको मुस्लोले कोठा भरिएको देखेर आत्तिएका होटलका कर्मचारीहरूले होहल्ला गर्दागर्दै आगोले एकैछिनमा ठूलो आकार लियो । 

व्यस्त सहरको मुख्य चोकको सबैभन्दा अग्लो भवनबाट निस्केको धुँवाको मुस्लोले इटहरीलाई दिनभरीजसो छोपिरह्यो । १० तले भवनको मध्यभागबाट सल्केको आगोले दुई वटा फ्ल्याटमा ठूलो क्षति पुर्याउँदा सातौ तलालाई पनि प्रभावित पारेको छ । 

बिहान साढे नौ बजेदेखि ह्वारह्वारी उठेको आगो नियन्त्रणमा लिन ६ घन्टा लागेको थियो । पर्याप्त श्रोत साधनको समयमै परिचालन गर्न नसक्दा एउटा व्यापारिक कम्पलेक्सको दुई वटा तल्लामा लागेको आगो नियन्त्रणमा लिन ६ घण्टासम्म कुर्नुपरेको थियो । 

आगलागी नियन्त्रणमा लिन पूर्वतयारी तथा अभ्यासको कमी भएको प्रष्ट देखिन्थ्यो । 

आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका बिभिन्न स्थानीय तहका १६ वटा दमकल प्रयोग गरिएको थियो । यस्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी तीन सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । 

काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट तीन जनाको  उद्धार गरिएको हो । 

आगलागी भएलगत्तै उक्त भवनमा फसेकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मगाइएको थियो । हेलिकप्टर आउन ढिलाइ भएपछि नेपाली सेना तथा प्रहरीले सिंढी तथा डोरीको मद्दतले ९ जनाको उद्धार गरेको थियो । ३ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले जानकारी दिए । 

आगलागी पाँचौ र छैटौं तलामा भएका कारण समयमै क्रेन ल्याएर नियन्त्रणमा लिने अवस्था हुँदाहुँदै त्यसतर्फ ढिलागरी पाँच घण्टापछि मात्र क्रेन ल्याइएको प्रत्यक्षदर्शीले बताए । 

अग्लो भवनको भित्री भागमा आगो लागेका कारण दमकलबाट आगो निभाउन ठूलो सकस परेको थियो । आगलागीको केही घन्टापछि मात्रै क्रेन ल्याएपछि भने आगो निभाउन सहज भएको थियो । 
क्रेनले दमकलका फायरम्यानहरूलाई सातौं तलासम्म उचालेर पानी छिट्न सहज बनाएको थियो । 

‘बिहान साढे नौ बजेतिरबाट ठूलो रूप लिएको आगो दिउँसो  तीन बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको हो’, इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेलले भने । 

अग्ला भवनहरूमा आगलागी हुँदा क्रेनहरू पनि उत्तिकै आवश्यक पर्ने शिक्षा यो घटनाले दिएको वडाध्यक्ष पोखरेलले बताए । आगलागीबाट प्लाजाको सबभन्दा माथिल्लो तीन वटा फ्ल्याटमा रहेको होटल बरण्डामा बढी क्षति भएको छ । 

होटल सञ्चालक राजेश श्रेष्ठका अनुसार किचन र  रेष्टुराँमा बढी क्षति भएको छ । त्यसबाहेक पाँचौ तलामा रहेको केही पसलको स्टोर रुममा भएका सामान पनि जलेर ध्वस्त भएका छन् । 

आगलागी भइरहँदा सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी  सामान्य घाइते भएको र दुई जना सर्वसाधारण पनि घाइते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

आगलागी भइरहँदा सुरक्षाकर्मीहरूले भवनभित्र फसेका ११ जनाको सकुशल उद्धार गरेका थिए । 

उद्धारकै लागि भनेर  हेलिकप्टर पनि बोलाइएको थियो । तर, सेनाको हेलिकप्टर काठमाडौंबाट आइपुग्न समय लाग्ने भएपछि डोरीको सहायताले सुरक्षाकर्र्मीले ११ जनाको उद्धार गरेका थिए । 

सेन्ट्रल प्लाजाको आगो नियन्त्रणका लागि कोशी प्रदेशका विभिन्न स्थानीय तहका १२ वटा दमकल, क्रेन, आयल निगमबाट ल्याइएको फोम, फायरबल लगायतका सामग्री प्रयोग भएको थियो । 

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा इटहरी उपमहानगरका गरी चार सयभन्दा बढी सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटिएका थिए । 

सेन्ट्रल प्लाजामा आगो कसरी सल्कियो अहिलेसम्म खुलेको छैन । 

सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाका अनुसार क्षतिको विवरण पनि संकलन भइरहेको छ । 

‘दिनभरी नै उद्धार र आगो नियन्त्रणमै केन्द्रीत भयौं’, उनले भने ‘क्षतिको विवरण संकलनको काम भइरहेको छ ।’ 

सेन्ट्रल प्लाजाको सबैभन्दा माथिल्लो भागमा होटल बरण्डा छ । त्यसभन्दा तल क्यूएफएक्सको सिनेमा हल, सनराइज बैंक तथा डिपार्टमेन्टल स्टोर तथा अन्य धेरै पसलहरू समेत छन् । 

अग्लो भवनको मध्यभागमा आगो लागिरहँदा सातौं र आठौं तलामा रहेका होटलमा बास बसेका पाहुनाहरू बेखबर जस्तै थिए । 

सुरक्षाकर्मीहरू उद्धारका लागि पुग्दा मात्रै उनीहरूले आफू बसेको भवनमा आगलागी भएको चाल पाएका थिए ।

View : 207

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved