Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सिंघिया किनारमा बाटो छैन त भोट छैन !

उद्‌घोष संवाददाता
१८ फागुन २०८२, सोमवार

खोला कटान भएर ब्यक्तिको जमिनमा बनेको बाटो । तस्वीर : उद्घोष

विराटनगर । मोरङ कटहरी गाउँपालिका–२ स्थित सिंघिया खोलाको डिल हुँदै सञ्चालनमा रहेको ग्रामीण सडक खोलाको कटानले पूर्ण रूपमा बगायो । सडक प्रयोगकर्ताले मानिसको खेतलाई बाटो बनाएर प्रयोग गर्दैछन् ।

खोला किनारको सरकारी बाटो खोलाको कटानले खाएपछि स्थानीय र संघ, प्रदेश गरी पाँच वटा निर्वाचन भई सकेका छन् । 

वर्षायाममा खेतको हिलोबाट हिंड्न बाध्य कतिपय स्थानीयले बाटो नबनाउनेलाई भोट नै नदिने बताएका छन् । 

वर्षौंदेखि दोहोरिदै आएको समस्या यस वर्ष निर्वाचन आएकाले झन् गम्भीर बनेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । खोलाले धार परिवर्तन गर्दै पूर्वतर्फको डिल कटान गरेपछि साविकको बाटो नै नामेट भएको छ । 

बाटो नदीमा पसेपनि सडक प्रयोगकर्ता खेतबाटै हिंड्ने गरेकाले निजी जमिन बाटोमा परिणत भएको छ । 

यसले जग्गाधनीसँग विवादको सम्भावना मात्र होइन, भविष्यमा थप कानुनी झञ्झट निम्त्याउने चिन्ता पनि बढाएको छ ।

विराटनगरका यातायातकर्मी तथा जहदा–३ भातिगछका बासिन्दा बद्री साहका अनुसार वर्षायाममा खेतबाट हिंड्नु पर्ने भएकाले स्थानीयले घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ । 

‘हामीलाई ठूलो समस्या भनेको बाटो हो, बाटो नबनाउने र बनाउँछु भनेर आश्वासन दिने पार्टीलाई भोट नै नदिने’ उनले भने ।

पुराना नेताले बाटोमा ध्यान नदिएकाले यस पटक आफूहरु नयाँ नेतालाई मत दिने पक्षमा रहेको उनले बताए । 

कटहरी–२ र जहदा गाउँपालिका–३ भातिगछका बासिन्दाले यो सडक दुवै वडाका नागरिकका लागि जीवनरेखा सरह रहेको बताएका छन् । यो सडकको सास्तीमा ससाना बालबालिकादेखि जेष्ठ नागरिक र मजदुर किसान पर्दै आएका छन् ।

विद्यालय जाने विद्यार्थी, दैनिक ज्यालादारीमा काम गर्न जाने श्रमिक, कृषि उपज बजारसम्म पुर्याउने किसान तथा बिरामी बोक्ने एम्बुलेन्स सबै यही बाटोमा निर्भर छन् । 

खेतलाई सडक मानेर हिंड्ने गरेका स्थानीयले चुनाव आउँदा नेताहरुलाई खुलेर गाली गर्दै आएका छन् ।

स्थानीयवासी दिनेश ठाकुर भन्छन् ‘हरेक वर्ष खोलाले कटान गर्छ, केही समय माटो हालेर टालटुल गरिन्छ, फेरि बग्छ । अब संधैका लागि  समाधान नखोजे सहन सकिदैन ।’

वर्षामा यो बाटोमा हिलो र डुबानका कारण सवारी साधन चल्न नसक्दा आपतकालीन अवस्थामा समेत जोखिम बढेको छ । 

वर्षायाममा खोलाको तीव्र बहाव र अनियन्त्रित उत्खननका कारण कटान बढेको स्थानीयको आरोप छ । 

उनीहरूले स्थायी तटबन्ध निर्माण, ग्याबियन जाली जडान तथा सुरक्षित वैकल्पिक मार्गको व्यवस्था तत्काल गर्न माग गरेका छन् । 

स्थानीय दिनेश मण्डलले भने– ‘निर्वाचन आउँदा मात्रै चासो देखाउने प्रवृत्ति बन्द हुनुपर्छ ।’

निर्वाचनको माहोलसँगै यो मुद्दा राजनीतिक एजेन्डामा प्रवेश गरेको छ । आक्रोशित बासिन्दाले खुला रूपमा बाटो नबनाउनेलाई भोट नदिने  चेतावनी दिएका छन् । 

नदी कटानको पहल भने नभएको हैन । संघीय सरकारको बजेटमा आफ्नो कार्यकालमा तीन पटक प्रयास गरेपनि कटान रोक्न नसकीएको कटहरी–२ का पूर्व वडाध्यक्ष किशोर पाण्डे बताउँछन् ।

२०७४ सालको निर्वाचन प्रचारका क्रममा सिंघिया खोलालाई पाता कस्ने चर्चित वाक्य बोलेर मत पाएका तत्कालिन कोशी प्रदेशका मन्त्री जीवन घिमिरे अब संघको निर्वाचनमा जितेर स्थायी समाधान गर्ने बताउँछन् । 

सिंघिया खोलाको कटान रोक्ने आफ्नो पहिलो उद्देश्य रहेको एमाले नेता घिमिरेको भनाइ छ ।

View : 100

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved