Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा कांग्रेस संस्थापन इतरको भेला, एकता भन्दै एकताविरोधी आह्वान

कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको थियो । भित्र गगन थापा नेतृत्वको वर्तमान संरचनाविरुद्ध कडा अभिव्यक्ति दिएका सिटौलाले बाहिर निस्किएपछि भने पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा छलफल भएको प्रतिक्रिया दिएका थिए ।
उद्‌घोष संवाददाता
३० वैशाख २०८३, बुधवार

विराटनगर । नेपाली कांग्रेसभित्र यतिबेला संस्थापन र इतर दुवै पक्ष ‘एकताबद्ध पार्टी’ का पक्षमा रहेको दाबी गरिरहेका छन् । 

इतर पक्षका नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरू पार्टी एकताको नारा लगाउँदै व्यवहारमा भने एकताविरोधी गतिविधिमै सक्रिय रहेको देखिएका छन् ।

कांग्रेसभित्र विशेष महाधिवेशनपछि बनेको नयाँ शक्ति सन्तुलनलाई अस्वीकार गर्दै आएको देउवा–कोइराला–सिटौला समूहले कोशी प्रदेशमा आयोजना गरेको भेला त्यसकै पछिल्लो उदाहरणका रूपमा देखिएको छ । 

पार्टीले अहिले देशव्यापी रूपमा क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेका बेला विराटनगर आइपुगेका नेता सिटौलाले  भने कार्यकर्तालाई त्यसमा सहभागी नहुन खुला निर्देशन दिएपछि कांग्रेसभित्रको अन्तरविरोध थप सतहमा आएको हो ।

मंगलबार विराटनगरमा आयोजित संस्थापन इतर पक्षको प्रदेशस्तरीय भेलामा मुख्य वक्ताका रूपमा पुगेका सिटौलाले आफूहरू पूर्णबहादुर खड्का नेतृत्वमा अघि बढिरहेको र त्यही लाइनलाई निरन्तरता दिने उद्घोष गरेका थिए । 

पार्टी सभापति गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिको निर्णय र अभियानसँग प्रत्यक्ष टकराव हुने गरी उनले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएका थिए । 

‘अद्यावधिक गर्ने काम कसैले नगर्नुहोला, अरू साथीहरूलाई पनि रोक्नुहोला,’ भन्ने उनको भनाइले पार्टी एकताको भाषण र व्यवहारबीचको दूरी स्पष्ट पारेको कांग्रेस नेताहरू बताउँछन् ।

रोचक कुरा के थियो भने, पार्टीभित्र आफूलाई बलियो शक्ति देखाउन आयोजित भनिएको सो भेलामा सिटौलाकै निकट मानिने धेरै नेताहरू अनुपस्थित रहे । 

झापादेखि विराटनगरसम्म उनको प्रभाव रहेको दाबी गरिए पनि कार्यक्रममा सहभागिता भने निकै कमजोर देखिएको थियो । 

बरु शेखर कोइराला समूहका कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की  सहभागी हुँदा सिटौला पक्षकै धेरै प्रभावशाली नेताहरू भने गयल रहे । 

कार्यक्रमपछि नेता कार्कीलाई सञ्चारकर्मीले सोधेका थिए ‘कोइराला समूहको तपाईं देउवा पक्षको भेलामा किन ?’ उनले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टीभित्र सही ढंगले नेतृत्व अघि नबढेको उनको भनाइ थियो । 

सिटौलासँग लामो समयदेखि निकट सम्बन्धमा रहेका कोशी प्रदेश सभापति उद्धव थापा नै  कार्यक्रममा अनुपस्थित रहनु विशेष अर्थपूर्ण मानिएको छ । 

केही समयअघिसम्म सिटौलाका सबैभन्दा विश्वासपात्र मानिएका थापा अहिले भने पार्टीको आधिकारिक लाइनविपरीत जान नसकिने निष्कर्षमा पुगेका छन् । 

कांग्रेस नेताहरूका अनुसार उनले गुटगत भेलामा सहभागी हुन अस्वीकार गरेका थिए ।

सिटौलाले भने सार्वजनिक रूपमा थापाको अनुपस्थितिलाई उनकी श्रीमती बिरामी भएको कारणसँग जोड्ने प्रयास गरे । तर, कांग्रेस वृत्तमा यसलाई विश्वास गरिएको छैन । 

विशेष महाधिवेशनपछि पार्टीभित्र नयाँ नेतृत्व स्थापित भइसकेको अवस्थामा फेरि समानान्तर शक्ति केन्द्र निर्माण गर्ने अभ्यासमा आफू संलग्न हुन नसक्ने सन्देश थापाले दिएको नेताहरू बताउँछन् ।

कोशी प्रदेश सरकारमा एमालेसँग आलोपालो सत्ता सहकार्यको सहमति भएकाले भविष्यमा मुख्यमन्त्री बन्ने आकांक्षासहित थापा अहिले संस्थागत लाइनमा देखिन चाहेका छन् । 

उनी निकट नेताहरूका अनुसार अहिले गुटगत राजनीतिमा बढी सक्रिय देखिंदा अवसर गुम्न सक्ने आकलनले पनि थापा सतर्क बनेका हुन् । 

सिटौलाको कार्यक्रममा अनुपस्थित हुनेमध्ये अर्का प्रभावशाली नेता कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ पनि थिए । 

यस्तै झापाका सभापति देउमान थेवे तथा सिटौला निकट भनेर चिनिने अन्य प्रदेश सांसदहरूको समेत उपस्थिति देखिएन । 

यसले सिटौला समूहभित्रै असन्तुष्टि र विभाजन बढेको संकेत दिएको कांग्रेस नेताहरू बताउँछन् ।

भेला सफल बनाउन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र प्रदेश महामन्त्री भूपेन्द्र राइले  सक्रिय समन्वय गरेका थिए । 

उनीहरूले विभिन्न नेता तथा सांसदलाई व्यक्तिगत रूपमा फोन गरेर कार्यक्रममा बोलाएका थिए । तर, अपेक्षित उपस्थिति जुट्न सकेन । एक प्रदेश सांसदका अनुसार आफूलाई कार्यक्रममा आउन आग्रह गरिए पनि प्रदेश सभापतिले नजान सुझाव दिएपछि सहभागी नभएको बताएका छन् ।

कम उपस्थिति देखिएपछि स्वयं सिटौला पनि असन्तुष्ट बनेको सहभागी नेताहरूको दाबी छ । त्यसैले उनले तत्काल अर्को प्रदेश भेला आयोजना गर्न निर्देशन दिएका थिए । 

जेठ १० गते अझ ठूलो भेला गर्ने गरी तयारी गर्न र त्यसको संयोजन भूपेन्द्र राईलाई जिम्मा दिन उनले निर्देशन दिएको सहभागी नेताहरूले बताएका छन् ।

कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको थियो । भित्र गगन थापा नेतृत्वको वर्तमान संरचनाविरुद्ध कडा अभिव्यक्ति दिएका सिटौलाले बाहिर निस्किएपछि भने पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा छलफल भएको प्रतिक्रिया दिएका थिए । यही दोहोरो भाषालाई लिएर कांग्रेसभित्र धेरै नेताहरूले आलोचना गरिरहेका छन् । 

उनीहरूका अनुसार सार्वजनिक रूपमा एकताको कुरा गर्ने तर भित्रभित्रै पार्टी निर्णयविरुद्ध अभियान चलाउने काम भइरहेको छ ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई सुरुदेखि नै अस्वीकार गर्दै आएका सिटौला केही समयअघि अर्को झट्का पनि बेहोरेका थिए ।

कांग्रेसले उनलाई राष्ट्रियसभा दलको नेताबाट हटाएको थियो । उनलाई तत्कालीन संसदीय दल नेता शेरबहादुर देउवाले राष्ट्रियसभा दलको नेता बनाएका थिए । तर पछि भीष्मराज आङदेम्बे संसदीय दल नेता बनेपछि सिटौलालाई हटाएर कमला पन्तलाई जिम्मेवारी दिइएको थियो ।

उक्त निर्णयबारे सोधिएको प्रश्नमा सिटौलाले उक्त निर्णयलाई मूर्खतापूर्ण भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

दुई पटक झापाबाट चुनाव हारेर राष्ट्रियसभामा पुगेका सिटौलाले पार्टीभित्र आफ्नो प्रभाव जोगाइराख्न निरन्तर समानान्तर शक्ति अभ्यास गरिरहेको आरोप उनीमाथि लाग्दै आएको छ ।

कांग्रेस रूपान्तरणमा अवरोध सिर्जना गरेको भन्दै आलोचित ‘सात भाइ’ समूहका प्रभावशाली नेतामध्ये सिटौला पनि एक थिए । 

अहिले विशेष महाधिवेशनपछि पार्टीमा नयाँ शक्ति संरचना निर्माण भइसकेको अवस्थामा पनि उनी पुरानै शैलीमा समानान्तर शक्ति केन्द्र निर्माणमा लागेको आरोप कांग्रेसकै नेताहरूले लगाइरहेका छन् ।

यसैबीच सभापति गगन थापाले हालै देउवा र शेखर कोइराला समूहका १९ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । 

पार्टीभित्र समावेशी सन्तुलन कायम गर्न गरिएको सो निर्णयलाई पनि सिटौलाले पार्टी एकतामा सहयोगी नहुने टिप्पणी गरेका छन् । 

तर कांग्रेसभित्रको एउटा ठूलो पंक्तिले भने अहिलेको आवश्यकता समानान्तर गुट निर्माण होइन, संस्थागत निर्णयलाई स्वीकार गरेर पार्टीलाई एक ढिक्का बनाउने भएको बताइरहेको छ ।

View : 157

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved