विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीमा आफ्नो अनुकूलको नेतृत्व जिताएर उत्साहित भएको नेकपा एमालेभित्रको एउटा समूह प्रदेश इञ्चार्ज बनाउन भने असफल भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको समूहले कोशी प्रदेशमा भानुभक्त ढकाललाई इञ्चार्ज बनाउन गरेको प्रयास असफल भएको हो ।
एमालेको सचिवालय कमिटीको बिहीबार सम्पन्न बैठकले शेरधन राईलाई कोशी इञ्चार्ज बनाएपछि मुख्यमन्त्री कार्कीको कोशी प्रदेश कमिटी एकलौटी पार्ने रणनीतिमा ब्रेक लागेको छ ।
एमाले स्रोतका अनुसार, पछिल्ला दिनहरूमा पार्टीभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री शेरधन राईबीच प्रदेशको नेता को हुने भन्नेमा तिब्र प्रतिष्पर्धा छ । मुख्यमन्त्री कार्की कुनै पनि हालतमा राई इञ्चार्ज नबनून् भन्ने चाहन्थे ।
‘तर, कार्कीको केही जोड चलेन’ एमाले स्रोतले भन्यो । राई प्रदेशको इञ्चार्ज बनेपछि मुख्यमन्त्री कार्कीलाई पार्टीभित्र चलखेल गर्न निकै सकस हुने बुझिएको छ । कार्कीले कोशी प्रदेशमा भानुभक्त ढकाललाई प्रदेश इञ्चार्ज बनाउन हरसम्भव प्रयास गरेका थिए ।
अहिले एमाले कोशी प्रदेशमा मुख्यमन्त्री कार्की, ढकाल र खोटाङका अर्का नेता विशाल भट्टराईबीच निकै मिल्ती भएको बताइन्छ । कुनै समय विद्यार्थी राजनीतिका समकालीन उनीहरू तत्कालीन अवस्थामा आगो ओकल्ने भाषण र काम गर्थे ।
अहिले भने उनीहरूको व्यस्तता बालकोट धाउने, पार्टी अध्यक्ष केपी ओलीको बैठक कक्ष पुग्ने, फोटो खिचाउने र फेसबुकमा पोस्ट गर्नेमा बढी हुने गरेको एमालेकै कतिपय कार्यकर्ता बताउँछन् ।
‘काम के पर्छ थाहा भएन, राजकीय जिम्मेवारी नभएका कमरेडहरूको त फुर्सद भयो होला, चिया खानै पनि जानुहुन्छ होला’ एक एमाले नेता भन्छन्, ‘कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको कार्यालय चाहिँ विराटनगर हो कि बालकोट ? छुट्टाउनै गाह्रो हुनेगरी धाएको देख्छु ।’
यसअघि गएको असोजमा सम्पन्न एमाले प्रदेशको निर्वाचनमा मुख्यमन्त्री कार्कीसहितका नेताहरु मिलेर घनश्याम खतिवडालाई अध्यक्षमा जिताएका थिए ।
भानुभक्त ढकालदेखि मुख्यमन्त्री कार्कीसम्मका सहयात्री विनोद ढकाललाई हराउन उनीहरुले पार्टी र प्रदेश राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लागेको थियो ।
View : 412
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved