Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सस्तो सुनको पछि लाग्दा ३३ वर्षे शर्माको यसरी गयो ज्यान, हत्यामा संलग्न उनकै छिमेकी रहेका दुई युवक पक्राउ

चाडपर्वका बेला काठमाडौंबाट सरोज झापा आए । सस्तो सुन खोज्ने जिम्मा लिएका सुनिल साहले आफूले सुन लिइसकेको र माटोमा गाडेर राखेको जानकारी दिए । गाउँकै छिमेकी भाइको भर गरेर सरोज सुनिलको साथ लागेर हिडे ।
उद्‌घोष संवाददाता
१७ कार्तिक २०८२, सोमवार

हत्या गरिएका सरोज शर्मा (इन्सेटमा) । उनको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छिमेकी दुई युवक । तस्वीर : उद्घोष

विराटनगर । गएको बिहीबार झापा मेचीनगर–१४ स्थित निचाझोडा जंगलको हातेमालो सामुदायिक वन परिसरभित्र एउटा कार शंकास्पद रुपमा जलिरहेको अवस्थामा फेला पर्यो ।

चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जाने बाटोबाट झण्डै २ सय मिटर नजिकै कार जलिरहेको देखेपछि स्थानीयवासीले होहल्ला गरे, प्रहरीलाई गुहारे । 

जलेको कारण कारको नम्बर प्लेट तत्कालै यकिन हुन सकेन । स्थानीयवासीले एउटा कारलाई बलपूर्वक जंगलतिर लैजँदै गरेको देखेको र त्यसको केहीबेरमा आगो लागेको हुँदा चालकले नै कारमा आगो लगाएको हुनसक्ने बताए । यसपछि प्रहरीले अनुसन्धान थाल्यो । 

अनुसन्धानका क्रममा खुल्यो, त्यो कार झापाकै शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको रहेछ, जसलाई उनकै छिमेकी युवाले हत्यापछि विरिङ पुलमुनि गाडेको पाइएको छ । 

उनको हत्यामा संलग्न रहेको अभियोगमा झापा प्रहरीले आइतबार दुई जनालाई सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शर्माको हत्या सोही ठाउँका २७ वर्र्षीय सुनिल साह र २३ वर्र्षीय राहुल साहले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको हत्यामा संलग्न अर्का एक जना भारतीयसमेत रहेको र उनी फरार रहेको उनले जानकारी दिएका छन् ।

काठमाडौंमा व्यवसाय गरेर बस्दै आएका सरोज शर्माले सस्तो मूल्यमा सुन किन्न पाए किन्ने र काठमाडौंमा लगेर बेच्ने योजना सुनिल साहलाई सुनाएका थिए । प्रहरीका अनुसार यो  एक महिना अघिको कुरा हो । 

‘त्यसबेला सरोजको योजना सुन्ने बित्तिकै उनीबाट पैसा लुट्ने योजना बनेको रहेछ,’ डीएसपी खड्काले भने ‘पैसा लुट्ने, उनलाई अपहरण गरी भारत लैजाने र त्यहा बन्धक बनाएर फिरौती असुल्ने योजना बनेछ ।’ 

चाडपर्वका बेला काठमाडौंबाट सरोज झापा आए । सस्तो सुन खोज्ने जिम्मा लिएका सुनिल साहले आफूले सुन लिइसकेको र माटोमा गाडेर राखेको जानकारी दिए । गाउँकै छिमेकी भाइको भर गरेर सरोज सुनिलको साथ लागेर हिडे । 

प्रहरीका अनुसार सुनिलले सरोजलाई झापाकै अर्जुनधारा नगरपालिका–४ मा रहेको दहीझोडा सामुदायिक वन क्षेत्रमा कात्तिक ९ को साँझतिर पुर्याएका थिए । 

त्यही दिन साँझ साढे ५ बजे एकान्त जंगल क्षेत्रमा पुगेपछि सुनिल र उनका भाञ्जा राहुल साहले हथौडा प्रयोग गरेर सरोजको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । 

उनको हत्या गरेपछि सरोजकै बा प्र ०१–३० च ७१९४ नम्बरको कारमा उनको शव हालेर झापा गाउँपालिका–५ मा रहेको हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि लगेर गाडेको बयान अभियुक्तहरुले दिएका छन् । 

कात्तिक ९ गतेबाट हराएका शर्मा फेला नपरेपछि उनका परिवारले प्रहरीलाई जानकारी गराएका थिए । 

खोजतलाशको क्रममा उनको सवारी साधन कात्तिक १३ गते मेचीनगर १३, निचाझोडा सिमसार क्षेत्रमा जलिरहेको अवस्थामा फेला परेको थियो । उनको शव चाहिं शनिबार विरिङ पुलमुनि भेटिएको थियो ।

पक्राउ परेका मामा भाञ्जाविरुद्ध अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव तथा ज्यान सम्वन्धि कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको अनुसन्धान म्याद लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेकामध्ये सुनिललाई  विराटनगरको रानीमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको र राहुललाई भने घरैबाट पक्राउ गरिएको हो । यसरी सस्तोमा सुन किन्न पाइने लोभका पछि लाग्दा सरोजको ज्यान गएको हो । 

जंगलमा जलिरहेको कार नजिकै भेटिएको एउटा चप्पलले यो घटनाको रहस्य खुलाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । 

‘कार नजिकै एउटा चप्पल पाइएको थियो, त्यो चप्पल सरोज शर्माकै रहेछ,’ ती अधिकारीले भने ‘त्यसबाट घटनाको रहस्य उधिन्न सहज भयो ।’

View : 317

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved