मार्बल बोकेको ट्रक दुर्घटना प्रकरण
विराटनगर । मार्बल बोकेको ट्रक दुर्घटनामा पाँच जना मजदुरको ज्यान गएको घटनामा पीडित पक्ष र व्यवसायीबीच सहमति भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा भएको वार्तामा मृतकहरूको नाममा परिवारलाई जनही ११ लाख रुपैयाँ दिने सहमति भएको जनाइएको छ ।
मृतकका आफन्तहरूले बीमा अनुसारको उचित क्षतिपूर्तिको माग गर्दै शुक्रबार प्रर्दशन चर्काएका थिए । उनीहरूले जिल्ला प्रहरी कार्यालय सुनसरीमा तोडफोड समेत गरेपछि प्रहरीले अस्रुग्यास प्रहार गरेको थियो ।
शुक्रबार दिनभर भएको वार्तापछि दुवै पक्षबीच सहमति भएको प्रहरी स्रोतले जनाएको छ ।
विराटनगरको रोयल मार्बल नामक मार्बल पसलबाट टाली र मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको मालबाहक ट्रक बिहीबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनीयाहीमा दुर्घटना भएको थियो ।
को १ ख ४५४१ नम्बरको ट्रक पल्टिदा टायल र मार्वल ‘लोड अनलोड’ गर्ने एउटै टोलका पाँच जना कामदारको मृत्यु भएको थियो ।
ट्रक पल्टिदा मार्बलमाथि बसेका पाँचै जना मजदुरले मार्बलले किचिएर ज्यान गुमाएको जनाइएको छ ।
मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन् ।
ट्रकको पछाडि बस्नेको जीवन बीमा सुरक्षित नभएकाले मृतकका आफन्तले ब्यवसायीसँग क्षतिपूर्ति माग गरेका थिए ।
बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा ट्रक ब्यवसायी संघसँग मृतकका आफन्तले बीमा बापतको रकम क्षतिपूर्ति स्वरुप दिनुपर्ने माग गरेका थिए ।
तर, ब्यवसायीले भने ५० हजार रुपैयाँका दरले मात्रै दिन सकिने बताएपछि मृतकका आफन्तहरू आन्दोलनमा उत्रिएका थिए ।
View : 234
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved