भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले जिल्लाको वन क्षेत्रको दिगो व्यवस्थापनका लागि महत्वपूर्ण कदम चालेको छ। आज शुक्रबार भोजपुरमा डिभिजन वन कार्यालयको आवधिक योजनासहितको रणनीतिक योजना मस्यौदा कार्ययोजनामाथि बृहत् छलफल कार्यक्रम सम्पन्न भएको हो।
भोजपुरको वन क्षेत्रको वर्तमान अवस्था, विगतका पञ्चवर्षीय कार्ययोजनाको समीक्षा, दीर्घकालीन दूरदृष्टि, लक्ष्य तथा रणनीतिहरू, आगामी पाँच वर्षको बजेट तथा कार्यक्रम र कार्यक्रम कार्यान्वयनपछिका अपेक्षित उपलब्धिहरूबारे जानकारी दिने उद्देश्यले सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालय भोजपुरका कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले बताए । कार्यक्रममा आर्थिक वर्ष २०८२-८३ देखि २०८६-८७ सम्मको मस्यौदा कार्ययोजनाको प्रस्तुति र गहन छलफल भएको थियो। कार्यक्रमको सहजीकरण पूर्व डिभिजन वन कार्यालय प्रमुख फणिन्द्र पोखरेल र देवीचन्द्र पोखरेलले गरेका थिए।
सहजकर्ता फणिन्द्र पोखरेलले तयार पारेको मस्यौदा अनुसार जिल्लामा निजी वन पैदावारमा मूल्य अभिवृद्धि कर (मुअकर) र प्रदेश कर सङ्कलन अपेक्षित लक्ष्यभन्दा बढी रहेको पाइएको छ, जुन सकारात्मक पक्ष हो। तथापि, मस्यौदामा सामुदायिक वन उपभोक्ता समितिहरूको सबलीकरण, वन डढेलो नियन्त्रण तथा व्यवस्थापन, सामुदायिक वनमा पर्यापर्यटन तथा निजी वन प्रवर्द्धनको अवस्था कमजोर रहेको औँल्याइएको छ। यसैगरी, प्राकृतिक जडीबुटीहरूको संरक्षण तथा दिगो उपयोग, सिमसार संरक्षण तथा प्रयोगको अवस्था पनि अपेक्षित नभएको उल्लेख छ। यी क्षेत्रमा थप सुधारको आवश्यकता रहेको कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सभापति कमल थुलुङले भोजपुरमा प्राकृतिक जडीबुटी, बहुमूल्य रुखहरू रुद्राक्ष र बोधिचित्त, विभिन्न जातका काठका रुख-बिरुवा, सुन्तला, कागती लगायतका फलफूलका रुखहरूका साथै पर्याप्त वन पैदावारको उपलब्धता रहेको बताए । उनले भोजपुरको लेकाली वनमा दुर्लभ हाब्रेनगायत वन्यजन्तुको वासस्थान रहेको उल्लेख गर्दै यसको दीर्घकालीन संरक्षण, वासस्थानको व्यवस्थापन र पर्यापर्यटनमा जोड दिनुपर्ने धारणा राखे ।
त्यस्तै, अन्य अतिथिहरूले दिगो वन व्यवस्थापन तथा संरक्षणमा सम्बन्धित निकाय, समिति, समूह लगायत स्थानीयहरूको भूमिका र दायित्वको बारेमा प्रकाश पार्दै कार्यक्रम प्रभावकारी भएको बताएका छन्। छलफल कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङ, डिभिजन वन अधिकृत दानबहादुर श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू, जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरू, सामुदायिक वनका उपभोक्ताहरूको बाक्लो सहभागिता थियो। यस छलफलले भोजपुरको वन क्षेत्रको दिगो विकासका लागि भावी रणनीति तय गर्न महत्वपूर्ण मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।
View : 947
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved