धनकुटा : धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो ।
धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको हो । सो टोलीलाई बुधबार धनकुटा नगरपालिकाले कार्यक्रम आयोजना गरी स्वागत गरेको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारी लगायतले फूलमाला लगाएर उनीहरूलाई स्वागत गरे ।
कार्यक्रममा धनकुटा नगर प्रमुख तामाङले धनकुटा नगरमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । पर्यटनकर्मीहरुको टोलीलाई स्वागत गर्दै उनले यहाँका पर्यटकीय क्षेत्रहरूलाई आ–आˆनो क्षेत्रबाट प्रचारप्रसार गरेर सहयोग गर्न आग्रह गरे । कार्यक्रममा पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्वपूर्ण क्षेत्र रहेकाले पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने धारणा राखिन् ।
देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, ब्लगर, ट्राभल एजेन्सीकर्मी, पर्यटन पथपदर्शकलगायत टोलीमा सहभागी छन् । पाँच दिनसम्म धनकुटामा रहने उनीहरूले यहाँका पर्यटकीय क्षेत्रहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृतिलगायत अवलोकन गरेर प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताइएको छ ।
View : 146
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved