Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

रोमाञ्चक फाइनलमा लुम्बिनीलाई ८ रनले पराजित गर्दै उपाधि उचाल्यो सुदूरपश्चिमले

उद्घोष सम्वाददाता
२२ कार्तिक २०८१, बिहिवार

विराटनगर । साविक विजेता सुदूरपश्चिम प्रदेशले विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदान बुधबार भएको नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु–१९ राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा दोस्रो पटक उपाधि उचालेको छ । सुदूरले अघिल्लो सिजनकै प्रतिष्पर्धी लुम्बिनीलाई ८ रनले पराजित गर्दै उपाधि उचालेको हो ।

यसअघि २०२२ मा त्रिवि क्रिकेट मैदानमा भएको फाइनल पनि सूदुरले लुम्बिनीलाई सामना गर्दै अन्डर १९ को पहिलो विजेताको उपाधि जितेको थियो । 

सुदूरले बुधबार दोस्रो भिडन्तमा समेत लुम्बिनीलाई पराजित गर्दै नगद २ लाख तथा ट्रफी उचालेको हो । उपविजेता बनेको लुम्विनीले १ लाख तथा ट्रफी हात पारेको छ ।

टस जितेर ब्याटिङ रोजेको सूदुरले ३७ दशमलव ३ बलमा अलआउट हुँदै १२७ रनको सामान्य योगफल बनायो । सुदूरका लागि अभिषेक थापाले सर्वाधिक २९ रन जोड्दा नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐयर १४ र दिपक रोकायाले ११ रनको योगदान दिए । 

लुम्बिनीका सन्तोष यादवले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन दिएका थिए । त्यस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिएका थिए ।

१२८ रनको लक्ष्य पाएको लुम्बिनीका लागि आफ्नो पक्षमा खेल फर्काउने प्रयास विफल बन्यो । लुम्बिनीले ४३ दशमलव १ बलमा ११९ रन बनाउँदै अलआउट हुनुपर्यो । अन्तिम विकेट खेल्ने क्रममा  रमेश कुर्मी र शिवकुमारले ४२ बल बाँकी रहँदा १० का लागि संघर्ष गरेका थिए । कुर्मी दुई रनका लागि संघर्ष गर्दा रनआउट हुन पुगेका थिए ।

लुम्बिनी आकाश त्रिपाठीले २२ रन बनाउँदा शिव कुमारले २०, विजय कोहरले १९, समीर अलीले १८ र सन्तोष यादवले १२ रनको योगदान दिए । 

प्लेयर अफ द म्याच घोषित सुदूरका हेमन्त धामीले ४ विकेट लिंदा सचिन भट्ट र नरेन साउदले पनि २–२ विकेट लिएका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलर समेत भए । १७ वर्षीय यादवले प्रतियोगिताको फाइनलसहितका सात खेलमा १८१ रन खर्चिएर २७ विकेट लिए । उनले नगद ५० हजारका साथ ट्रफी हात पारे ।

उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उनले नगद २५ हजारका साथै ट्रफी पनि हात पारे ।

विजयी सुदूरपश्चिमलाई कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

View : 75

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved