Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षादीपमा आईटी कार्यशाला

उद्घोष सम्वाददाता
२० माघ २०८०, शनिवार

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा सूचना प्रविधि कार्यशाला आयोजना गरेको छ । कलेजले स्वदेशमा बसेर विश्व बजारमा काम गर्नसक्ने दक्ष सूचना प्रविधि जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ आयोजित एकसाता लामो कार्यशालाको शनिबार समापन गरिएको हो ।

कार्यशालामा कम्प्युटर साइन्स मूल विषय लिएर कक्षा १२ मा अध्ययनरत २५० जना बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई वेभसाइटको निर्माण, सफ्टवेयरहरुको निर्माण, वेवपेजहरुमा हुने ह्याकिङ र त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, साइबर सेक्युरिटी लगायतका विषयमा प्रशिक्षण दिइएको हो । कार्यशालाको समापनका अवसरमा विद्यार्थीहरुले आफुले सिकेका सीपबारे प्रदर्शन समेत गरेका थिए ।

मानव समुदाय पूर्ण रुपमा डिजिटल युगमा प्रवेश गरिसकेको र सूचना प्रविधिको प्रयोग बिना मानव जीवननै अघि बढ्न नसक्ने भएकोले कम्यूटर विज्ञान अध्ययनका लागि रुचि जगाउन र अध्ययन गरिरहेका विद्यार्थीहरुको क्षमता विकासका लागि कार्यशाला आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।

‘आजको जमानामा जीविकोपार्जन तथा आयआर्जनको सबैभन्दा महत्वपूर्ण र सजिलो माध्यम आईटी भएको छ, घरैमा बसेर संसारको कुनैपनि कम्पनीको काम गर्न सकिने अवस्था बनेको बुझेका छौं’ खड्काले भने, ‘अब किताबी ज्ञानले मात्रै दक्षता हासिल नहुने देखेर आईटी कार्यशालाको आयोजना गरेका हौं, यसबाट विद्यार्थीले यथेष्ट लाभ लिए भन्ने विश्वास लिएको छु ।’

कार्यशालामा काठमाण्डौंस्थित कोड हिमालय, टेक्सपायर कलेज, प्रशिक्षण लगायतका संस्थाका विज्ञ प्राविधिकहरुले सहजीकरण गरेका थिए ।

कार्यशालाको समापनमा यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा, टेक्सपायर कलेजका प्रिन्सिपल लक्ष्मण पोखरेल, प्रशिक्षण संस्थाका प्रमुख कार्यकारी अधिकृत आशीष प्रसाई, स्मल माइन्डका जीवन निरौला, प्रशिक्षक सुरजराज पाण्डेलगायतले सूचना प्रविधि क्षेक्रका बारेमा जानकारीमुलक धारणा राखेका थिए ।

कार्यत्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुसहित कजेका विज्ञान संकायका संयोजक नवीनकुमार रोय, वाणिज्यका संयोजक शंकर भट्टराई र अन्य सञ्चालक सदस्यहरु सहभागी थिए ।

View : 105

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved