विराटनगर । कोशी प्रदेशसभाको प्रशासनिक र संसदीय गतिविधि अब मोरङको कटहरीस्थित फलफूल तथा तरकारी थोक बजारको भवनबाट सञ्चालन हुने भएको छ ।
कटहरी गाउँपालिकाले सोमबार कोशी प्रदेश सरकारलाई पत्राचार गर्दै तरकारी बजारको भवनबाट प्रदेशसभा सञ्चालन गर्न सहमति प्रदान गरेको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा २४ गते प्रदेशसभाका दुईवटै भवनमा तोडफोड, लुटपाट र आगजनी भएको थियो ।
त्यसपछि स्थान अभावका कारण कोशी प्रदेशसभाको संसदीय गतिविधि ठप्प छ । प्रशासनिक कामहरु भने मिडिया सेन्टरको एउटा कोठाबाट हुँदै आएको छ ।
कोशी प्रदेश सरकारले अबको केही दिनभित्रै कटहरीको तरकारी बजारको संरचनाबाट प्रदेशसभाका कामहरु सुरु हुने जानकारी दिएको छ ।
यसअघि विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभा सञ्चालन गर्ने तयारी अघि बढेको थियो ।
यद्यपि महानगरको स्वामित्वमा रहेको सभागृहको भाडा महंगो भएको भन्दै प्रदेशसभा र प्रदेश सरकारले कटहरीको तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्न पहल गरेका थिए ।
‘कटहरी गाउँपालिकाले प्रदेशसभालाई निःशुल्क रुपमा उक्त भवन उपलब्ध गराउने भएको छ,’ कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भने, ‘हामीलाई गाउँपालिकाले सहमतिको पत्र नै दिएको छ । अब आउँदो मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । अनि प्रदेशसभा कटहरीबाट सञ्चालन हुनेछ ।’
प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरज ढकालले बुधबारबाट सचिवालयको काम कटहरीबाट सुरु हुने सम्भावना रहेको जानकारी दिए ।
‘प्रदेश मन्त्रिपरिषदले बुधबार निर्णय गर्ने जानकारी पाएका छौं’, उनले भने, ‘मन्त्रिपरिषदले निर्णय गरेकै दिन हामी सचिवालय त्यहा“ सार्नेछौं ।’
जेनजी आन्दोलनअघि प्रदेशसभाको बर्खे अधिवेशन जारी थियो ।
आगजनीमा परेर प्रदेशसभाको सचिवालय र बैठक हल ध्वस्त भएपछि बर्खे अधिवेशन अन्त्य गरिएको थियो ।
विराटनगरसँग साँध जोडिएको कटहरी गाउँपालिकामा रहेको तरकारी बजारको संरचना संघीय सरकार कृषि मन्त्रालयको १५ करोड लागतमा बनेको थियो ।
स्थानीय तरकारी र फलफूल बजारलाई व्यवस्थित गर्न बनाइएको बजार उपयोगमा भने आएको थिएन । त्यहा“ साप्ताहिक हाटबजार भने लाग्दै आएको थियो ।
२०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सो संरचनाको उद्घाटन गरेका थिए ।
कटहरीमा ५ बिघा दुई धुर क्षेत्रफलमा थोक तथा खुद्रा बजारका लागि आवश्यक पर्ने व्यवस्थित संरचना निर्माण गरिएको छ ।
जसमा प्रशासनिक भवन, ३२ वटा थोक तरकारी तथा फलफूल पसल र ३२ वटै खुद्रा पसलका स्टलहरू राख्न मिल्नेगरी संरचना, गोदाम घर, बैंक घर र सुरक्षाकर्मीका लागि आवश्यक संरचना निर्माण गरिएको छ ।
अन्य संरचनाहरुसहित अब प्रदेशसभाको बैठक हल बनाउने तयारी भइरहेको सरकारका प्रवक्ता मन्त्री भण्डारीले जानकारी दिए ।
‘अन्य संरचनाहरु त लगभग तयार जस्तै छन्, अब बैठक हल बनाउनु पर्नेछ’, उनले भने, ‘क्याबिनेट निर्णयपछि हल बनाउन थालिनेछ । १५–२० दिनभित्र हल बनाइसकिन्छ होला । त्यसपछि प्रदेशसभाको हिउँदे अधिवेशन सुरु गर्ने योजना छ ।’
View : 428
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved