Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

सहमतिमा होटलमा बसेकालाई पक्राउ र अनुसन्धानले परिवारमा विचलन

अनुसन्धानका नाममा प्रहरीले जोडी समात्दै छोड्दै गर्दा सम्बद्धहरुको पारिवारिक जीवन भाँडिने अवस्थामा पुगेको छ ।
उद्घोष सम्वाददाता
१३ साउन २०८१, आइतवार

विराटनगर । अपराधका ठूला घटनामा लगायतका विषयमा सार्वजनिक रुपमै आलोचना खेपिरहेको प्रहरी अनुसन्धानको बहानामा होटलमा सहमतिपूर्वक बसिरहेका जोडी समात्न अझै अग्रसर बनिरहेको छ । प्रहरीको यस्तो कदमले कतिपयको पारिवारिक जीवन नै लथालिंग हुने अवस्थामा पुगेको छ ।

नेपाल प्रहरीले अनुसन्धानका नाममा होटलमा गएर पक्राउ गरेका महिला र पुरुषको जोडीलाई ‘गलत नपाइएको’ जनाएर छाड्छ । देशभरमा दैनिक हुने यस्ता घटनाले महिलाको परिवारमा आउने समस्याका बारेमा प्रहरीले वास्ता गरेको छैन । 
विराटनगर ११ बसपार्कस्थित बिभिन्न होटलमा प्रहरीले खानतलासी गरेर शुक्रबार बेलुका छ जोडी र पाँच जना होटल संचालकलाई नियन्त्रणमा लियो । तर, उनीहरु सबैलाई शनिबार कार्यालयमा उपस्थित हुने गरी राति नै छाडियो । यो घटनाले कतिपय परिवारमा सधैंका लागि बेमेल हुने अवस्था ल्याएको छ । आमाबाबु र छोराछोरी तीनतिर छरिएर बस्नु पर्ने अवस्था देखिएको छ ।

घटना विवरण अनुसार पक्राउ परेकामध्ये एक जोडी पुराना साथी थिए । सुनसरी माइती भई मोरङ घर भएकी महिलाका तीन सन्तान छन् भने उनका श्रीमान वैदेशिक रोजगारीका लागि टाढाको मुलुकमा छन् । पक्राउ परेका जोडी जिम्मा लगाउन वडा प्रहरी कार्यालय विराटनगरले अभिभावक बोलाएको थियो । विदेशमा रहेका श्रीमानलाई पनि जानकारी गराइयो ।

‘जे हुनु भई गयो अब नहोस्, छोराछोरी हेरेर घरमै गएर बस्नु’ श्रीमानले भनेका थिए । तर, उनको परिवारले बुहारीलाई अर्को मानिससँग होटलबाट प्रहरीले पक्राउ गरेकाले घरमा स्वीकार गर्न नसकिने अडान कस्यो । बालबालिकाको भविष्यका लागि उनका श्रीमानले श्रीमती स्वीकार गर्ने बताएपछि उनी विदेशमा रहेकाले परिवारको जित भयो ।

ती महिलालाई शनिबार वडा प्रहरी कार्यालय विराटनगरबाट माइती पक्षले जिम्मा लिएर गएको छ । शुक्रबार वडा प्रहरीका नायव उपरिक्षक बुद्ध श्रेष्ठको नेतृत्वको टोलीले धेरै वटा होटलमा छापा मारेको थियो । त्यस क्रममा १७ जनालाई पक्राउ गरी कार्यालयमा लगिएको थियो । यीमध्ये एक जना लागूऔषध प्रयोगकर्ता भएको पाइएकाले मुद्दा चलाउने प्रक्रियामा लगियो भनें बाँकी सबैलाई छाडियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले वडा प्रहरी कार्यालयले अनुसन्धानका लागि ल्याएका मानिस छाडेको जानकारी दिँदै लागुऔषधसहित पक्राउ परेका सुनसरी दुहबीका कृष्णकुमार जोशीलाई भने कारवाहीका लागि हिरासतमै राखिएको बताए । यतिका मानिसलाई अनुसन्धान गर्दा चार महिनादेखि एउटै होटलमा बसेका जोशीको साथबाट सुईबाट प्रयोग हुने बिभिन्न खाले लागूऔषध बरामद भएको उनले बताए ।

‘अपराध गरेको भए मुद्दा चलाउनु पर्छ नभए त्यसै अरुको परिवार नै बिग्रने गरी गोपनीयता भंग गर्न पाइन्न’ महिला अधिकारकर्मी मञ्जिता उपाध्यायले भनिन्–‘महिलाको परिवार बिग्रने पुरुषलाई केही पनि नहुने यस्ता घटना धेरैपटक भई सकेका छन् ।’ 

यसअघि पनि प्रहरीले विराटनगरको एक होटलमा काम गर्ने दुई महिलालाई यौनकर्मीको लगत आरोप लगाएर पक्राउ गरेको आफूलाई  सूचना आएको उनले बताइन् ।

केही वर्षअघि इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन नायव उपरीक्षक विनोद शर्माले सहमतिमा होटलमा गएका महिला र पुरुषलाई दुःख नदिने अभिब्यक्ति सार्वजनिक गरेर यौन ब्यापारको अनुसन्धान गरेका थिए । त्यसक्रममा संलग्नलाई नभई ब्यवसाय गराउने होटल सञ्चालकलाई सजाय दिलाएका थिए । शर्माले गरेको कारवाहीलाई समाजले सकारात्मक लिएको थियो ।

समाजमा आउने सम्भावित  समस्या पनि होटल अनुगमनमा भेटिने ब्यक्तिहरुबाट खुल्ने प्रहरीको तर्क छ । पहिचान लुकाएर होटलमा बस्ने र त्यस्ता मानिसको मृत्यु हुने गरेकाले प्रहरी र होटल ब्यवसायी बीचको दूरी बढ्ने गरेको प्रहरी स्वयम् बताउँछन् । क्षणिक लाभमा बास बस्ने मानिसको परिचय होटल संचालकले नै लुकाउने गरेको बताइन्छ ।

नेपाल प्रहरीले भने बिभिन्न अफराधमा संलग्न व्यक्तिको खोजीका त्रममा त्यस्ता जोडी फेला पर्ने र अनुसन्धान पछि छुट्ने गरेको बताउने गरेको छ । कोशी प्रदेश प्रहरीका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल होटलमा बस्दा परिचय नखुल्ने गरी बस्ने गरेका जोडीलाई मात्रै अनुसन्धानका लागि नियन्त्रणमा लिने गरिएको बताउँछन् । 

‘समाजलाई अनुशासनमा राख्नु पनि प्रहरीको दायित्व हो त्यसैले यस्ता जोडीलाई परिवारको जिम्मा लगाउने गरिन्छ’ दाहालले भने ।

View : 180

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved